आव २०७८।०७९ मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङद्धारा ६ थान बैबाहिक अंगिकृत नागरिकता प्रदान
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २२ । आर्थिक बर्ष २०७८।०७९ मा जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ६ वटा बैबाहिक अंगिकृत नागरिकता प्रदान गरेको छ ।
आव २०७७।०७८ मा यस्तो प्रकृतिका ५ वटा नागरिकता बितरण गरिएको थियो । नेपाली पुरुषसंग बिबाह गरी आउने महिलालाइ बैबाहिक अंगिकृत नागरिकता प्रदान गरिन्छ । बैबाहिक अंगिकृत प्राप्त गर्न फोटो समेत प्रमाणित गरी स्थानीय तहबाट सिफारिस गरिएको अनुसूची–७ फारम,बिबाह दर्ता प्रमाणपत्र र सपथपत्र,सम्वन्धित देशको पहिचान खुल्ने निस्सा र नागरिकता परित्याग गर्न कारवाही चलाएको प्रमाण,सनाखत गर्ने पति र निजको नेपाली नागरिकता प्रमाणपत्र,हालसालै खिचिएको मुखाकृति एवम् दुबै कान देखिने कम्त्मिा २.५ र बढीमा ३ सेन्टिमिटर साइजको २ प्रति फोटो र प्रमाणीकरण गर्न आवश्यक देखिएमा स्थानीय तह र प्रहरी समेतको मुचुल्का आवश्यक पर्छ । प्रमाण पुगेमा पेश भएकै दिन यो नागरिकता प्रदान गर्न सकिने व्यवस्था रहेको छ । तर नागरिकता प्राप्तिका लागि सबै कागजात तथा प्रमाण सक्कलै हुनुपर्ने व्यवस्था रहेको छ ।
प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले प्रमाणित गर्नु भएको अभिलेख जिल्ला प्रशासन कार्यालयले आफ्नो वेवसाईटमार्फत बार्षिक प्रगति बिबरणको रुपमा सार्वजनिक गरेको हो । जस अनुसार आव ०७८।७९ मा बंशजको आधारमा ५ हजार ४ सय ५८ नागरिकता बितरण भएको छ । आव २०७७।०७८ मा यो प्रकृतिको नागरिकता प्रमाणपत्र पाउनेको संख्या २ हजार ८ सय २३ रहेको थियो । आव २०७८।०७९ मा २ हजार ९ सय ७७ वटा नागरिकता प्रमाणपत्रको प्रतिलिपि बितरण भएको छ । आव २०७७।०७८ मा यो संख्या २ हजार १ सय ८ रहेको थियो ।