ताप्लेजुङमा खिम्दिङ अध्यक्ष रहेको रग्बी संघ गठन
ताप्लेजुङ,साउन १४ । ताप्लेजुङमा योगेन खिम्दिङ अध्यक्ष रहेको नेपाल रग्बी संघ गठन भएको छ ।
संघको उपाध्यक्षमा सक्षम पालुङ्वा,सचिवमा तिलबहादुर जोगी,सहसचिवमा शोभा साउदेन र कोषाध्यक्षमा अर्चना गुरुङ चयन हुनु भएको छ । संघमा भीमा तुम्बाहाम्फे लिम्बू,ङिमाछिरिङ शेर्पा,मनिषा ताम्लिङ,सुमिर(मदन)प्रसाँई,नवराज केदेम र रमिस्ता लिम्बू सदस्य चयन हुनुभएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष अनिता पन्दाकले जानकारी दिनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गणेश मावो,कार्यालय प्रमुख यज्ञनिधि पौडेल,जिल्ला भलिबल संघका अध्यक्ष बिमल भण्डारी सहितको उपस्थितिमा रग्बी संघको जिल्ला नेतृत्व चयन भएको हो ।
रग्बी एउटा सामूहिक खेल हो । पहिलो र दोस्रो चरण गरी प्रत्येक चरणमा ४० मिनेटको दुई भागमाअण्डाकार बलको साथ दुई टोलीहरूबीच यो खेल खेल्ने गरिन्छ । फुटबल जस्तै खेल्न सकिने तर हातले खेलिने यो खेल बेलायतबाट सन् १८२३ मा सुरु भएको इतिहास छ । संघ र महासंघ गरी दुई वर्गमा खेलिने यो खेलमा फुटबलमा भन्दा बढी खेलाडी संख्या हुन्छन् । संघले आयोजना गरेको खेलमा १३–१३ जना र महासंघले आयोजना गरेको खेलमा १५–१५ जना खेलाडी सहभागी हुने गरेको बताइन्छ । खेल अवधि ८० मिनेटको हुने गरेको छ । २०५२ सालमै राष्ट्रिय खेलकुद परिषद्मा ३७ औं संघको रूपमा दर्ता भए पनि रग्बी खेल अझै बामे सर्दै गरेको अवस्थामा छ ।