|

रेडपाण्डा संरक्षण अभियानमा दुई करोड बढी खर्च गर्दै हिमाली संरक्षण मञ्च

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन १ । ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै संस्था हिमाली संरक्षण मंञ्चले रेडपाण्डा संरक्षण अभियानका २ करोड २ लाख रुपैयाँ खर्चिने भएको छ ।

जिल्ला परियोजना सल्लाहकार समितिमा आइतवार मञ्चका कार्यक्रम संयोजक रमेश राईले उक्त जानकारी गराउनु भएको हो । रेड पान्डा नेटवर्कको सहयोगमा मंञ्चले सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्मको अवधिमा उक्त रकम चार वटा शिर्षकमा खर्च गरिने जनाएको छ । अनुसन्धान तथा अनुगमन,शिक्षा तथा जनचेतना,दिगो जीवीकोपार्जन र पर्यापर्यटन प्रवद्र्धन शीर्षकमा कार्यक्रम संञ्चालन भएको राईले जानकारी दिनुभयो। आठराई त्रिवेणी गाउँपालिका बाहेक सवै पालिकाको वडामा कार्यक्रम लागु भएको छ । रेडपान्डाको सम्भावित बासस्थान भएको वडामा कार्यक्रम लागु भएको उहाँले जानकारी दिनुभयो । ताप्लेजुङसहित तेह्रथुम र संखुवासभामा पनि कार्यक्रम संञ्चालनमा छ ।’ संस्थाले १० वटा विद्यालयमा रेडपान्डा सम्बन्धि पठनपाठन गर्ने गरेको छ । विद्यार्थीलाई स्टेशनरी तथा पुरस्कारवापत २ लाख ५० हजार रुपैयाँ विनियोजन भएको छ । फुङलिङ नगरपालिकाको फुरुम्बुमा अल्लो प्रशोधन कार्यक्रम सञ्चालनमा छ । पोखरा विश्व विद्यालयले उत्पादित अल्लोको धागो खरिद गर्ने सहमति गरेको छ । पाथीभरास्थित हर्कटे क्षेत्रमा गोठालालाई पाल,सोलार तथा गोठमा प्रयोग गरिने सामाग्री प्रदान गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक राईले बताउनुभयो ।

विभिन्न ठाउँमा विभिन्न प्रजातिका ९ हजार बढि विरुवा उत्पादन गरी वितरण गरिएको छ । सामुदायिक वनका पदाधिकारीको क्षमता अभिवृद्धिका लागि लेखा र अग्नी नियन्त्रण सम्बन्धि तालिम प्रदान गरेको समेत संयोजक राईले जानकारी दिनुभयो । वर्षमा कम्तीमा चार पटकसम्म रेडपाण्डाको बासस्थानको अनुगमन हुने गरेको उहाँले जानकारी दिनुभयो । फुङलिङ नगरपालिकाको पाथीभरा र सिरिजंगा गाउँपालिकाको याम्फुदिन क्षेत्रमा चरा समेत गणना गरिएका थियो ।

यसैबीच कार्यक्रममा रेडपान्डाको संख्या घटेको वा बढेको विषयमा गणना गर्नुपर्ने माग उठेको छ । ९ वर्ष अगाडि गणना गरिएको थियो । पुनः गणना गर्न निकै महँगो पर्ने भएकाले तत्काल गणना सम्भव नभएको हिमाली संरक्षण मंञ्चका अध्यक्ष चन्द्रमणि लिम्बूले बताउनुभयो । सल्लाहकार समिति अध्यक्ष तथा जिल्ला समन्वय समिति प्रमूख छिरिङ लामाले प्रत्येक पालिकासँग समन्वय गर्ने प्रतिवद्धता जनाउनु भएको छ । शेर्पाले संरक्षण आफैमा चुनौतीको विषय भएपनि समन्वय गरेर काम गर्नु साझा दायित्व हुने बताउनुभयो । कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल,डिभिजनल वन अधिकृत वीरेन्द्र शाह,कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बु लिम्बू लगायतले संरक्षणको कार्यभारमा सरोकारवालाको भूमिका बताउनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts