सनराइज बैंकको फुङलिङ शाखाले चलायो मेहेन्दी लगाउने अभियान
ताप्लेजुङ,साउन १ । सनराइज बैंकको ताप्लेजुङ फुङलिङस्थित शाखाले आइतवार महिलाहरुका लागि ‘मेहेन्दी’लगाउने अभियान सञ्चालन गरेको छ ।
शाखाले मेहेन्दी लगाउने अभियानमा उपस्थित हुन महिलाहरुलाई आवहन गरेको थियो । सनराइज बैंकका फुङलिङ शाखा प्रवन्धक अनिल श्रेष्ठका अनुसार बैंकले मेहेन्दी र चुरा लगाउने प्रवन्ध गरेको छ । साउने संक्रान्ति पर्व शुरु भएसँगै महिलाहरुले मेहेन्दी र हरियो चुरा लगाउने प्रचलन छ । सनराइज बैंकले‘मेहेन्दीले सजाऔं हात,सनराइज बैंकको साथ’भन्ने नारा सहित मेहेन्दी लगाउने अभियान चलाएको छ ।
हिन्दु धर्मग्रन्थका अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरियो चुरा, पोते र हातमा मेहेन्दी लगाउनु भएको थियो । साउनमा जताततै हरियाली हुने हुनाले त्यही हरियालीमा रमाएर महादेवबाट सौभाग्य प्राप्तिको खुसी प्राप्त गर्न सफल भएको प्राचीन कथन छ ।
चुरा लगाउँदा यसको ध्वनीले मानिसको मस्तिष्कलाई एकाग्रता राख्न मद्दत गर्ने ठानिन्छ । विवाहित महिला सौभाग्यको प्रतिकको रुपमा हरियो चुरा लगाउँछन् । अविवाहित युवतीले पनि राम्रो वर प्राप्त होस् भन्ने मान्यतासहित हरियो चुरा र मेहन्दी लगाउने प्रचलन रहेको छ ।