जुडीबुटी खेती विस्तार भण्डारणका लागि सेवाग्राहीलाई दिएको अनुदानको उपयोगिता र प्रभावकारिताबारे अनुगमन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २६ । डिभिजन वन कार्यालयले ताप्लेजुङमार्फत जुडीबुटी खेती विस्तार भण्डारणका लागि सेवाग्राहीलाई दिएको अनुदानको उपयोगिता र प्रभावकारिता बारे आइतबार स्थलगत अनुगमन भएको छ ।

चालु आर्थिक बर्ष २०७८÷७९ मा किसानलाई दिएको ७ लाख ५६ हजार रुपैयाँ सदुपयोगबारे सरोकारवालाहरुबाट अनुगमन गरिएको डिभिजन वन अधिकृत वीरेन्द्र शाहले जानकारी दिनुभयो । चालू आवमा तीतेपाती,सतुवा,चिराइतो,लौठ सल्ला र टिमुर लगायत जडीवुटी खेती गर्ने ६ जना किसानलाई प्रोत्साहन वापत अनुदान दिएको वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार ३ जनालाई १ लाख ५२ हजार र ३ जनालाई १ लाख रुपैंका दरले अनुदान दिएको हो । उहाँका अनुसार पाथीभरा याङ्वरक गाउँपालिका–१ नाङ्खोल्याङका सनम गुरुङ,फुङलिङ नगरपालिका–९ हाङदेवाका कुमार गुरुङ र फुनपा–८ दोखुका कुमार लिम्बूलाई जनही १ लाख ५२ हजार रुपैयाँका दरले अनुदान दिइएको छ । सनमले करिब ४ रोपनी खेतमा तीतेपाती खेती गर्नु भएको छ । गुरुङ र लिम्बूले सतुवा खेती गर्नु भएको छ । यस्तै फुङलिङ नगरपालिका–११ फावाखोलाका पूर्णबहादुर भट्टराई,मैवाखोला गाउँपालिका–४ का सन्तकुमार लिम्बू र फुङलिङ नगरपालिका–९ हाङदेवाका इन्द्रबहादुर गुरुङले जनही एक–एक लाख रुपैयाँ अनुदान प्राप्त गर्नु भएको छ ।

जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामासहितको टोलीले हाङ्देवास्थित गुरुङले सतुवा खेती गरेको स्थानमा पुगेर खेती बारे जानकारी लिएको छ । लामाले वास्तविक किसानलाई अनुदान दिएको पाईएको र अब उत्पादन र बजारीकरणका लागि मेहनत गर्नुपर्ने बताउनुभयो । गुरुङले प्रतिगोटा १० रुपैयाँका दरले १४ हजार विरुवा खरिद गरेर खेती लगाएको बताउनुभयो । उहाँका अनुसार करिव १ हजार ५ सय विरुवा भने मरेका छन् । यसअघि अनुदान प्राप्त गरेका किसानलाई पुनः अनुदान नदिएको वन कार्यालयले जनाएको छ । चालू आवमै डिभिजन वन कार्यालयले जडीबुटी खेती विस्तार भण्डारण तथा प्रशोधन कक्षका लागि ९ लाख १ हजार रुपैयाँ प्रदान गरेको जनाएको छ । पाथीभरा याङ्वरक गाउँपालिका–२ थेचम्बुमा भण्डारण कक्ष निर्माण गरिएको छ । सिञ्चेकु सामुदायिक वन उपभोक्ता समितिमार्फत भवन निर्माण सम्पन्न भएको यादवले बताउनुभयो ।

नीजि वनतर्फ भने ८ जना किसानलाई जनही १–१ लाख रुपैंयाका दरले ८ लाख रुपैयाँ अनुदान दिएको छ । यस्तो अनुदान पाउनेमा आठराई त्रिवेणी गाउँपालिका–४ चाँगेका दिलकुमार लङ्वा,मैवाखोला गाउँपालिका–२ का राजु तामाङ,फुङलिङ नगरपालिका–९ हाङ्देवाका लाक्पाछेकी शेर्पा,फुङलिङ–६ सुकेटारका ओमप्रकाश राई र फुङलिङ–७ का अनिल खड्का रहनु भएको छ । फुङलिङ नगरपालिका–८ का उमानाथ पौडेल र मैवाखोला गाउँपालिका–२ का पहलमान लिम्बूलाई क्रमशः ३९ हजार र ४२ हजार रुपैयाँ अनुदान दिइएको कार्यालयले जनाएको छ । यो अनुदान वन जंगल घेरावारा,बोटविरुवा काटछाँट र स्याहारमा प्रयोग हुने गरी दिइएको सहायक वन अधिकृत यादवले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अनुदान पाउने किसान मेहनेती र पौरखी पाएको प्रतिक्रिया दिनुभयो । वास्तविक किसानलाई अनुदान दिन सकेमात्र कार्यक्रमको सार्थकता हुने भएकाले योजना पाउन योग्यलाइ मात्र छनौट गरेर अनुदान दिने गरेको डिभिजन वन कार्यालयले जनाएको छ । यो कार्यका लागि डिभिजन वन कार्यालयका प्रमुखको संयोजकत्वमा फोकल टिम गठन गर्ने प्रावधान छ । टिममा प्रशासन,कोष तथा लेखा नियन्त्रक कार्यालय,सामुदायक वन उपभोक्ता महासंघ,उद्योग वाणिज्य सँघ र कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का प्रतिनिधि रहने छन् । डिभिजन वन कार्यालयले जिल्लाका बिभिन्न ६ वटा ठाउँमा नर्सरी पनि स्थापना गरेको छ ।

डिभिजन वन कार्यालय,पाथीभरा सव–डिभिजन कार्यालय तोक्मे,तेल्लोक,दोभान,सान्थाक्रा र तिरिङेमा नर्सरी स्थापना भएको हो । ती ६ वटा ठाउँमा जडीवुटी विरुवा १ लाख,वार्षिक विरुवा १ लाख ५० हजार र वहुवर्षिय विरुवा ३० हजारको मात्रामा रहेको सहायक वन अधिकृत यादवले बताउनुभयो । नर्सरीमा सतुवा,बोजो,अमला,अर्रो,जापानिज सल्ला,टाँकी,निभारो,सुन्तला र कागतीका विरुवा छन् । बिरुवा निःशुल्क रुपमा बितरण हुने तर प्रतिव्यक्ति २ सय भन्दा बढि मात्रामा माग भए जग्गाधनीपुर्जा अनिवार्य गरिएको यादवले जानकारी दिनुभयो । वन कार्यालयले रेडियो ताप्लेजुङ नजिक साढे ६ लाख रुपैयाँ खर्चिएर हरियाली चौतारी समेत निर्माण गरेको जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts