फुङलिङ नगरपालिकाद्धारा साढे ६६ करोड बढीको बजेट,अधिकाँस पुरानै कार्यक्रमलाइ निरन्तरता

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । एकाध बाहेक अधिकाँस पुरानै नीति र कार्यक्रलाइ निरन्तरता दिदैं ताप्लेजुङको फुङलिङ नगरपालिकाले साढे ६६ करोड बढीका बजेट ल्याएको छ ।

नगर उपप्रमुख भीमादेवी ओझाले आगामी आर्थिक बर्ष २०७९।०८० का लागि ६६ करोड ७७ लाख ७४ हजार २ सय १० रुपैंयाको बजेट पेश गर्नु भएको छ । उहाँका अनुसार चालूतर्फ ४३ करोड ८९ लाख ४४ हजार २ सय १० रुपैंयाको बजेट रहेको छ । यो कूल बजेटको ६५.७५ प्रतिशत हो । यस्तै पुँजीगततर्फ २२ करोड ६८ लाख ८३ हजार रुपैंया बजेट रहेको छ । यो कूल बजेटको ३४.२५ प्रतिशत हो । कूल बजेटमध्ये सामाजिक विकासतर्फ २९ करोड ५९ लाख ३८ हजार(४४ प्रतिशत),पूर्वाधार विकासतर्फ १८ करोेड ६४ लाख ५७ हजार(३२ प्रतिशत),आर्थिक विकासतर्फ ३ करोड ५१ लाख १० हजार(५ प्रतिशत),सुशासन र अन्तरसम्वन्धित क्षेत्रतर्फ १ करोड ५० लाख ५० हजार(२ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासननिक खर्चतर्फ १४ करोड ३२ लाख २३ हजार २ सय १० रुपैंया(१७ प्रतिशत)रकम बिनियोजन गरिएको नगर उपप्रमुख ओझाले जानकारी दिनुभयो ।

खर्चको स्रोतका रुपमा नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने बित्तीय अनुदान १७ करोड २१ लाख,संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड बापतको ९ करोड ४३ लाख ५४ हजार,संघीय सरकारबाट प्राप्त हुने सर्शत अनुदान २८ करोड ८९ लाख,संघीय सरकारबाट प्राप्त हुने बिशेष अनुदान ३ करोड,संघीय सरकारबाट प्राप्त हुने समपुरक अनुदान १ करोड ७० लाख,प्रदेश सरकारबाट प्राप्त हुने बित्तीय समानीकरणको ९५ लाख ९७ हजार,राजश्व बाँफाँडको १ करोड ४ लाख २ सय १० रुपैंया,प्रदेश सरकारबाटै प्राप्त हुने समपुरक अनुदान १ करोड,प्रदेश सर्शत अनुदान ४९ लाख २३ हजार रुपैंया तथा आन्तरिक स्रोतबाट ३ करोड ७७ लाख व्यहोर्नेगरी आन्तरिक स्रोत संकलनको महत्वाकाँक्षी लक्ष्य राखिएको छ । चालू आर्थिक बर्षमा १ करोड ८० लाख रुपैंया आन्तरिक आम्दानी गरेको नगरपालिकाले जेठ मसान्त सम्म १ करोड ३८ लाख अर्थात् ७६.६६ प्रतिशत लक्ष्य भेटाएको छ ।

यता,नगरप्रमुख अमिर मादेनले एकाध बाहेक पुरानै नीति र कार्यक्रममा आधारित रहेर आगामी आवका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको छ । मादेनले पूर्वाधार विकासतर्फ सडक तथा पुल,भवन तथा शहरी विकास,पदमार्ग निर्माण र खेल मैदान निर्माणका नीति अघि सारेका छन् । यस्तै सामाजिक विकासतर्फ शिक्षा,स्वास्थ्य र खेलकुद,लैंगिक समानता र तथा सामाजिक समावेशीकरण,खानेपानी,संस्कृति प्रवद्र्धनका कार्यक्रम अघि सारिएका छन् । यस्तै आर्थिक विकासतर्फ कृषि,पुशसेवा,उद्यम विकास र सहकारी विकास र सहकारी प्रवद्र्धन कार्यक्रम,वन तथा वातावरण बिपद् व्यवस्थापन कार्यक्रम र सार्वजनिक सेवा तथा क्षमता विकास कार्यक्रम समेटेर‘यातायात सञ्जाल,व्यवसायिक कृषि,पर्यटन र पूर्वाधार,शिक्षा,स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’भन्ने नारा सहितको नीति प्रस्तुत गर्नु भएको छ । नगरसभामा फुङलिङ नगरपालिकाको अर्थ सम्वन्धी प्रस्तावलाइ कार्यान्वयन गर्न बनेको २०७९ पेश भएको छ भने करको दरमा केहि थपघट तथा शंसोधनका लागि प्रस्ताव पेश गरिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालका अनुसार नगरसभाको दोस्रो सत्र शनिवार समेत सञ्चालन हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts