| |

मनसुनजन्य विपदबाट बचौं र बचाऔं : माओवादी केन्द्र

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार ४ ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङले हालको मनसुनजन्य विपदको जोखिमबाट बच्नलाई सबैले सुरक्षा सतर्कता अपनाउनुपर्नेमा जोड दिएको छ । निरन्तरको वर्षासँगै देशभर बाढी र पहिरोले जनधन तथा भौतिक संरचनाहरुको क्षति पु¥याइरहेको समयमा सबैले सतर्कता अपनाउनुपर्नेमा माओवादीले जोड दिएको हो ।
शनिबार माओवादी केन्द्रका जिल्ला सहइन्चार्ज मिङमाडण्डु शेर्पा र संयोजक विष्णुकुमार लिम्बूले एक विज्ञप्ति जारी गर्दै मनसुनजन्य विपदबाट जोगिनका निम्ति सबैले सुरक्षा सतर्कतामा ध्यान दिन आह्वान गर्नुभएको छ । बाढी पहिरोको उच्च जोखिम रहेको क्षेत्रका बासिन्दालाई सुरक्षा सतर्कता अपनाउन र सुरक्षित ठाउँमा बस्नका लागि माओवादीले अपिल गरेको छ ।
यस्तै मनसुनजन्य विपदले जिल्लामा पु¥याएको क्षतिलाई दृष्टिगत गरी संकटमा परेका पीडित परिवारलाई राहत तथा उद्दारसहित सहयोग गर्न स्थानीय सरकार साथै सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराएको छ । बाढी पहिरोजस्तो विषम परिस्थितिले हुनसक्ने सम्भावित जोखिम र क्षतिलाई रोक्न तथा राहत साथै उद्दारमा जुट्नका लागि स्थानीय सरकार, स्थानीय प्रशासन र सुरक्षा निकायलाई माओवादी ताप्लेजुङले अनुरोधसमेत गरेको छ ।
हालसम्म बाढी पहिरोका कारण क्षति बेहोर्न पुगेका परिवारलाई उचित राहत तथा आवश्यक सबैखाले सहयोग उपलब्ध गर्नका लागि स्थानीय सरकार साथै सम्बन्धित पक्षलाई अनुरोध पनि गरेको छ । यस्तै मनसुनजन्य विपत्तिको समयमा सिंगो पार्टी पंक्ती, स्थानीय स्तरका कमिटी, जनवर्गीय संगठन लगायत आम कार्यकर्तालाई जोखिममा परेकाहरुको उद्दार, सुरक्षित ठाउँमा स्थानान्तरण गराउन लगायतका कार्यमा परिचालित हुन पनि आह्वान गरिएको छ ।
यता पहिरोले घर बगाउँदा पुरिएर मृत्यु भएका सिरिजङ्घा गाउँपालिका–७ खेबाङका तुलसा अधिकारी र यसोधा अधिकारीप्रति माओवादी केन्द्रले श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । विज्ञप्तिमार्फत घाइते विनोद अधिकारी (विष्णु) को शिघ्र स्वास्थ्य लाभको कामनासमेत गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts