ताप्लेजुङमा पूर्व सहमति अनुसार समन्वय समितिमा नेतृत्व लिनदिन गठबन्धन दल सहमति नजिक

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङका सत्तारुढ घटकहरु यसअघि गरिएको सहमति अनुसार नै जिल्ला समन्वय समितिमा नेतृत्व लिनदिन सहमति नजिक पुगेका छन् ।

स्रोतका अनुसार समन्वय प्रमुख र एकजना सदस्य माओवादी केन्द्रले पाउने छ भने नेकपा एसले समन्वय उपप्रमुख पाउने छ । ९ सदस्यीय जिल्ला समन्वय समितिको बाँकी ६ सदस्य काग्रेसले पाउने गरी सहमतिको पेरीफेरीमा छलफल भइरहेको स्रोतले जनाएको छ । यद्यपी गठबन्धन दलहरुले यसका बारेमा आधिकारिक केहि बताएका छैनन् । तीन दलिय गठबन्धनको सहमति पत्रमा हस्ताक्षर नगरेको तथा पूर्व सहमति बिपरित उम्मेदवारी दिएको भन्दै काँग्रेसभित्र गठबन्धन पक्षधर नेकपा एसलाइ समन्वय उपप्रमुख नदिन दबाब रहेको बताइदैं आएको थियो । गठबन्धन दलहरु बीचमा यस्तै सहमति भए गठबन्धनबाट माओवादीका प्रदेश कमिटी सचिवालय सदस्य मिङ्माडण्डु शेर्पा समन्वय प्रमुख र नेकपा एसका जिल्ला अध्यक्ष छिरिङ शेर्पा उपप्रमुखको उम्मेदवार बन्ने सम्भावना छ ।

मिङ्माडण्डु फक्ताङलुङ गाउँपालिकाबाट र छिरिङ मिक्वाखोला गाउँपालिकाबाट कार्यपालिका सदस्य बन्नु भएको हो । माओवादीमा फुङलिङ नगर कमिटी अध्यक्ष गंगाराम शंकर पनि समन्वय प्रमुखका आकाँक्षी हुनुहुन्छ । तर शेर्पाको सम्भावना बलियो रहेको बताइन्छ । गठबन्धन दलबीच सहमति बनेर पदीय भागबण्डा भए पार्टीकातर्फबाट कसलाइ उम्मेदवार बनाउने भन्ने बारे गठबन्धन दलहरुले अहिले सम्म कुनै औपचारिक निर्णय भने गरेका छैनन् । ९ स्थानीय तह रहेको ताप्लेजुङमा समन्वय समितिका पदाधिकारी तथा सदस्य चुन्नका लागि १८ जना मतदाता रहने छन् ।

जिल्ला समन्वय समितिको प्रमुख,उपप्रमुख र सदस्यको निर्वाचनका लागि सम्वन्धित जिल्लाका स्थानीय तहका प्रमुख÷अध्यक्ष र उपप्रमुख÷उपाध्यक्ष मतदाता हुनेछन् । यहाँ काँग्रेसले ४ प्रमुख र २ उपप्रमुख गरी ६,एमालेले ३ प्रमुख र ३ उपप्रमुख गरी ६,माओवादीले २ प्रमुख र ३ उपप्रमुख गरी ५ र नेकपा एसले १ उपप्रमुख पद जितेका छन् । यसो गर्दा गठबन्धन पक्षधर काँग्रेस,माओवादी र नेकपा एसको पक्षमा १२ मत र नेकपा एमालेको पक्षमा ६ मत देखिएको छ । १० जना भए बहुमत पुग्ने अवस्थामा गठबन्धन पक्षधरबीच टकराव नआए गठबन्धन पक्ष सुबिधाजनक बहुमतमा देखिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts