गठबन्धनमा केहि गढबढ भएपनि सिरिजङ्गाको कार्यपालिकामा गठबन्धन पक्षधर नै बिजयी

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १७ । गठबन्धन दलबीचको आन्तरिक टकरावले ताप्लेजुङको सिरिजङ्गा गाउँ कार्यपालिकामा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका ३–३ जना उम्मेदवार बिजयी गराउने योजना बिफल भएको छ ।

कार्यपालिकामा गठबन्धन पक्षधरकै सतप्रतिशत नतिजा आएपनि ६ जना कार्यपालिका सदस्य निर्वाचित हुने ठाउँमा त्यहाँ माओवादी केन्द्रका ४ र नेपाली काँग्रेसका २ जना उम्मेदवार बिजयी हुनुभयो । निर्वाचित महिला सदस्यमध्येबाट कार्यपालिकामा काँग्रेसबाट गंगा खड्का भट्टराई र मनकुमारी राई तथा माओवादी केन्द्रबाट सीतादेवी दाहाल र रमिला खत्री निर्वाचित हुनुभएको छ । पालिका भित्रका मतदातामध्ये दलित वा अल्पसंख्यकबाट कार्यालिकामा जाने दुई पदमा भने माओवादी केन्द्रका राम घतानी र मिङ्मा शेर्पा निर्वाचित हुनुभयो ।
गठबन्धन दलबीच के भएको थियो सिरिजङ्गामा ?
स्रोतका अनुसार ६ सदस्यीय कार्यपालिकामा गठबन्धन पक्षका काँग्रेस र माओवादी केन्द्र बीच ३–३ पद लिएर निर्वाचनमा जाने बिषयमा दुईदलबीच लगभग सहमति बन्ने कुरा थियो । काँग्रेस दलित र अल्पसंख्यक दुबै कोटा आफ्नो पक्षमा होस् र निर्वाचित महिला सदस्य भित्रबाट कार्यपालिकामा जाने ४ मध्ये एक पद आफुले लिएर ३ पद माओवादीलाइ दिने योजनामा थियो । माओवादी केन्द्र दलित वा अल्पसंख्यक भित्रका दुई पदमा एक–एक पद बाडिनुपर्ने तथा निर्वाचित महिला सदस्यभित्रबाट कार्यपालिका सदस्यमा जाने ४ पदमा पनि २–२ का संख्याले बाँड्नुपर्ने पक्षमा रहेको थियो । यि दुई बीच सहमति बन्न सकेन । फलस्वरुप कार्यपालिका सदस्यका लागि काँग्रेसले ५ र माओवादी केन्द्रले ६ पदमा उम्मेदवारी दिए । एमालेले पनि ६ पदमै उम्मेदवारी दियो ।

गठबन्धन दलबीच उम्मेदवारी फिर्ताको समय सम्म पनि कुरा मिलेन र जस–जसले उम्मेदवारी दिएका थिए,उनीहरु सबैको उम्मेदवारी कायम भयो । माओवादी र काँग्रेस दुबैले दलित वा अल्पसंख्यक भित्र २–२ जना उम्मेदवार खडा गरेका थिए । काँग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ दलिततर्फबाट उम्मेदवारी दिएका सन्तोष पुर्कुटीलाइ कार्यपालिका सदस्य बनाउन चाहनुहुन्थ्यो । उहाँले पुर्कुटीलाइ आधिकारिक उम्मेदवार बनाएर जान सिरिजंगामा रहेको काँग्रेस संसदीय बोर्डलाइ पत्र पनि लेख्नु भएको थियो । गठबन्धन दलमध्येको एक घटक नेकपा एसले निर्वाचनको सहमति तोडेको भन्दै यसअघि नेकपा एसले पाउने जिल्ला समन्वय समिति उपप्रमुखको पद एसलाइ नदिएर आफैं अघि सर्ने योजनामा रहेको काँग्रेसबाट समन्वय उपप्रमुखका लागि पुर्कुटी पनि चर्चामा हुनुहुन्थ्यो ।

पत्रकारिता क्षेत्रबाट स्थापित पुर्कुटी समन्वय उपप्रमुख हुने चर्चाकैबीच पालिका अध्यक्ष लालकृष्ण चौहानको गृहगाउँ आम्बेगुदिनबाट अमृत राईले पनि दलित वा अल्पसंख्यक कोटाबाट जाने २ पद भित्रमा उम्मेदवारी दिनुभयो । तर नतिजा काँग्रेसका दुबै उम्मेदवारको पक्षमा गएन र माओवादी केन्द्रका दुबै उम्मेदवार कार्यपालिका सदस्यमा बिजयी हुनुभयो । यो संगै अब १६ सदस्यीय कार्यपालिकामा पालिका अध्यक्ष सहित काँग्रेसको ७,उपाध्यक्ष सहित माओवादी केन्द्रको ६,वडाध्यक्ष एमालेको २ र स्वतन्त्र एकजना वडाध्यक्ष रहनु हुने छ । यद्यपी सिरिजङ्गामा भएको ‘गढबढ’बारे गठबन्धन पक्षधर दलहरुले अहिले सम्म आधिकारिक केहि प्रतिक्रिया भने दिएका छैनन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts