| | |

ताप्लेजुङका नवनिर्वाचित पदाधिकारीले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ६ गते ।
ताप्लेजुङमा बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित प्रमुख तथा अध्यक्षले शपथग्रहण् गर्नुभएको छ । जिल्लाका नौ स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरुले पद तथा गोपनीयताको शपथ ग्रहण लिनुभएको हो ।
जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीस प्रकाश राउतले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकाका नवनिर्वाचित प्रमुख अमिर मादेन, मैवाखोला गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमले शपथग्रहण गर्नुभएको छ ।
यस्तै पाथीभरा याङ्वरक गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष केशरकुमार सुब्बा, आठराई त्रिबेणी गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमु, मिक्वाखोला गाउँपालिकाका अध्यक्ष भक्तबहादुर कार्कीले सपथ लिनुभएको छ । फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बू (मुक्ति), सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, सिरिजङघा गाउँपालिकाका अध्यक्ष लालकृष्ण चौहानले र मेरिङ्देन गाउँपालिकाका अध्यक्ष युकहाङबीर (डम्बर) हाङ्गामले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
स्थानीय तहका नवनिर्वाचित प्रमुख तथा अध्यक्षले पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै शुक्रबारदेखि आ–आफ्नो पालिकामा पदभार ग्रहण गर्नुहुने भएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख मादेनले पदभार ग्रहण लगत्तै उपप्रमुख लगायतका नवनिर्वाचित जनप्रतिनिधिलाई शुक्रबार नै शपथग्रहण गराउने तयारी गर्नुभएको छ । बाँकी स्थानीय तहका अध्यक्षहरुले भने समयले भ्याएमा शुक्रबार नै र नभ्याए शनिबार शपथग्रहण गराउने जनाउनुभएको छ ।
ताप्लेजुङमा फुङ्लिङ नगरपालिका, मिक्वाखोला गाउँपालिका, मेरिङ्देन गाउँपालिका र सिरिजङघा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका, आठराई त्रिबेणी गाउँपालिका र सिदिङ्वा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ भने मैवाखोला गाउँपालिका र फक्ताङ्लुङ गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) ले विजयी हासिल गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts