निर्वाचन सञ्चालन तथा व्यवस्थापनका बारेमा मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ अभिमुखीकरण
खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख २४ । मुख्य निर्वाचन अधिकृतको कार्यालय ताप्लेजुङले यहाँका मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाइ निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्वन्धी अभिमुखीकरण गराएको छ ।
स्थानीय तहको निर्वाचनका लागि ताप्लेजुङमा ७३ मतदान स्थल र १ सय २२ वटा मतदान केन्द्र रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत पुष्पराज बाँस्तोलाका अनुसार दुई चरणमा अभिमुखीकरण गराइएको हो । आइतवार फुङ्लिङ नगरपालिका,आठराइ त्रिबेणी गाउँपालिका,मेरिङदेन गाउँपालिका,मैवाखोला गाउँपालिका,पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ६ स्थित सारदा मावि थुम्बेदिन क र ख केन्द्र बाहेक र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ सिकैचा स्थित दुर्गा मावि ओसे र सरस्वती मावि कुञ्जारी समेतमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ अभिमुखीकरण गराइने भएको छ । शुक्रवार फक्ताङ्लुङ गाउँपालिका,मिक्वाखोला गाउँपालिका,सिदिङ्वा गाउँपालिका र सिरिजङ्गा गाउँपालिकाको वडा नं ३ सिकैचा स्थित दुर्गा मावि ओसे र सरस्वती मावि कुञ्जारीमा रहेको मतदान केन्द्र र पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं ६ स्थित सारदा मावि थुम्बेदिन क र ख केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाइ अभिमुखीकरण गराइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अभिमुखीकरण संगै नमूना मतदान समेत गराइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खनालले जानकारी दिनुभयो । नमूना मतदानमा मतदान प्रकृयाका दिन निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी गराइएको थियो । मुख्य निर्वाचन अधिकृत तथा ताप्लेजुङ जिल्ला अदालतका न्यायाधीस प्रकाश राउतले अब निर्वाचनको संघार सुरु भइसकेकोले मतदान कार्य शान्तिपूर्ण ढंगले सम्पन्न गरी मतपेटिका सुरक्षित ढंगले निर्वाचन अधिकृतको कार्यालय सम्म पु¥याउने व्यवस्थाका लागि मतदानका समयमा खटिने कर्मचारीको भूमिका बारे जानकारी गराउनु भएको थियो । प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मतदान अधिकृत र सहायक मतदान अधिकृतले अपनाउनुपर्ने सुरक्षा सम्बेदनशिलता र सुव्यवस्थित ढंगले निर्वाचन कार्य सम्पन्न गर्न निर्वाचन कार्यक्रममा खटिने कर्मचारीले खेल्नुपर्ने भूमिका र दायित्व बारे प्रष्ट्याउनु भएको थियो ।