कञ्चनजंघा जोड्ने काबेली करिडोरलाई बजेट अभाव

–प्रयास लिम्बू
ताप्लेजुङ, बैशाख २ । ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) जोड्ने काबेली करिडोरका लागि बजेट अभाव भएको छ । सबैभन्दा छोटो दूरीमार्फत कञ्चनजङ्घा आधार शिविर पुग्न सकिने काबेली करिडोर सडकलाई बजेट अभाव भएको हो ।
पाँचथरको हिलिहाङ गाउँपलिका–२ अमरपुरस्थित तमोर नदीको लिम्बुनी पुलदेखि ताप्लेजुङको पाथीभरा याङ्वरक, सिरिजङ्घा गाउँपालिका हुँदै कञ्चनजङ्घा आधार शिविर जोड्ने सडक योजना काबेली करिडोरका रुपमा रहेको छ । हालसम्म पाँचथर खण्डअन्तर्गत लिम्बुनी पुलदेखि काबेलीबजार नजिकसम्म करिव पाँच किलोमिटर सडकको ट्रयाक निर्माण भएको छ ।
त्यस्तै ताप्लेजुङतर्फ पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटे र वडा ६ थुम्बेदिन पुछारसम्म करिव तीन किलोमिटर ट्रयाक निर्माण गरिएको छ । बजेट अभावका कारण पाँचथरतर्फ काबेली बजारदेखि भालुचौक पुछारसम्मको खण्ड अमरपुर र चाक्सिबोटे जोड्ने काबेली खोलामा निर्माण हुने पुलसम्म अझै ट्रयाक निर्माण गरिको छैन । बजेट अभावसँगै उक्त खण्डमा पर्ने थोरै वन क्षेत्रका कारण अवरोध सिर्जना भएकाले पनि ट्रयाक निर्माणको कार्य बाँकी रहेको बताइएको छ ।
यस्तै ताप्लेजुङतर्फ सिरिजङ्घा गाउँपालिका–१ सिनाम डाँडागाउँदेखि तावा दोभान, खेबाङ शिवदिन–याम्फुदिन हुँदै आधार शिविरसम्म करिडोर सडकको ट्रयाक निर्माण गर्न पूरै बाँकी रहेको छ । कञ्चनजङ्घा हिमाल शिर भएर बग्ने काबेली खोलाको तिरैतिरको क्षेत्रमा निर्माण हुने काबेली करिडोर सडक योजनाको प्रगति बजेटकै कारण अघि बढ्न नसकेको हो ।
एक प्रमुख पर्यटकीय गन्तव्य कञ्चनजङ्घा जोड्ने र धेरै क्षेत्रलाई सडक पहुँचमार्फत समेट्ने छोटो दूरीको काबेली करिडोर सडक योजना भए पनि बजेट बिनियोजनका हिसाबले ओझेलमा परेको योजना भएको उत्तर–दक्षिण (मुलघाट–दोभान–ओलाङ्चुङगोला) सडक योजना ताप्लेजुङका प्रमुख अमिन्द्र खड्का बताउनुहुन्छ । पर्यटकीय मार्गसँगै धेरै क्षेत्रका उपभोक्ता लाभान्वित हुने भए पनि करिडोरका लागि अत्यन्तै न्यून बजेट बिनियोजन हुने गरेको योजना प्रमुख खड्काले बताउनुभयो ।
खड्काका अनुसार चालू आर्थिक वर्षमा बिनियोजित थोरै बजेटलाई कार्यान्वयनको प्रक्रियामा लगिएको छ । करिडोरको आम्बेगुदिन–तेल्लोक खण्डमा ट्रयाक निर्माण गर्नेगरी सेवालुङ–पोमु जेभी कम्पनीसँग एक करोड १२ लाख रुपियाँमा सम्झौता भएको उहाँले जानकारी दिनुभयो । उक्त बजेटले तीनदेखि पाँच किलोमिटरसम्म ट्रयाक निर्माण हुने बताइएको छ ।
यता बजेट अभावमा करिडोरको निर्माण प्रगति अघि बढ्न नसकिरहेको हालसम्मको अवस्थालाई दृष्टिगत गर्दै मोटो बजेट व्यवस्थाका लागि पहल भइरहेको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य खेलप्रसाद बुढाक्षेत्रीले बताउनुभयो । सडकका लाभग्राही अर्थात सिरिजङ्घा गाउँपालिका निवासी बुढाक्षेत्रीले आफ्नै पार्टीका नेता जनार्दन शर्मा अर्थमन्त्री रहेकाले आगामी आर्थिक वर्षका लागि मोटो बजेट बिनियोजन गर्नेगरी समन्वय भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हालकै गठबन्धन सरकार कायम रहेमा काबेली करिडोरका लागि राम्रै बजेट बिनियोजन हुन्छ ।” बुढाक्षेत्रीलगायत यस क्षेत्रका सबै राजनीतिक दलका स्थानीय नेताहरुले काबेली करिडोर योजनाका लागि सुरुदेखि नै पहल गर्दै आएका छन् ।
काबेली करिडोर योजना सम्पन्न भएमा ताप्लेजुङको पूर्वी क्षेत्रका सिदिङ्वा गाउँपालिका, सिरिजङ्घा गाउँपालिका र पाथीभरा याङ्वरक गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । त्यस्तै पाँचथरको हिलिहाङ र वाङ्वरक गाउँपालिकाका केही वडाका बासिन्दा पनि लाभान्वित हुन्छन् । पर्यटकीय मार्गका रुपमासमेत रहेको हुँदा काबेली करिडोरले कञ्चनजङ्घा भ्रमणमा आउने बाह्य तथा आन्तरिक पर्यटकलाई धेरै फाइदा पुग्ने छ ।
ताप्लेजुङ प्रवेश गरेपछि पनि कञ्चनजङ्घा आधार शिविर पुग्नलाई पाँच/सात दिनसम्म गर्नुपर्ने पदयात्रा दुई दिनमा छोटिने अर्थात आधाभन्दा कम समयमै आधार शिविर पुग्न सकिने छ । करिडोरले यात्रा सहज हुने साथै समयसँगै खर्चसमेत बचत हुने भएपछि कञ्चनजङ्घासहित ताप्लेजुङको भ्रमणमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि हुने जिल्लाबासीको अपेक्षा रहेको छ । काबेली करिडोरको दूरी लिम्बुनी पुलदेखि याम्फुदिनसम्म ५६ किलोमिटर रहने बताइएको छ ।