| | |

ताप्लेजुङ अस्पतालका चारजना कर्मचारी निलम्बित

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत २ ।
ताप्लेजुङ जिल्ला अस्पतालको फार्मेसीको औषधि बिक्री वितरणमा अनिमितता भएको विषय बाहिरिएसँगै चारजना कर्मचारी निलम्बित भएका छन् । अनियमितताबारे यथार्थता नआउँदा सम्मका लागि अस्पतालको फार्मेसी फाँटमा कार्यरत चारजना कर्मचारीलाई निलम्बन गरिएको हो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बुधबार बसेको बैठकले फार्मेसी फाँटका चारजना कर्मचारीलाई निलम्बन गर्ने निर्णय गर्दै सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईको संयोजकत्वमा एक छानबीन समितिसमेत गठन गरेको छ । अस्पतालको फार्मेसीको औषधि विक्री वितरणमा अनियमितता भएको भन्ने चर्चा सार्वजनिक हुने गम्भीर विषय भएकोले सहायक प्रजिअको नेतृत्वमा पाँच सदस्यीय छानबीन समिति बनाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिनुभयो ।
जिल्ला समन्वय समिति प्रमुखसमेत रहनुभएका मादेनले यस विषयलाई गम्भीर रुपमा लिँदै छानबीन गरिने र यथार्थता पत्ता लगाउने बताउनुभयो । चिकित्सकहरुको पूर्जामाथि आफैँ औषधि विवरण थपेर विरामीबाट अतिरिक्त रकम असुलीमा फार्मेसीमा कार्यरत कर्मचारीहरुको सम्भावित संलग्नता पाइएको समिति बैठकले ठह¥याएको छ । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत मोटो रकमको कागजातसहित बीमा दावी पेश गरी बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्नेगरी अनैतिक क्रियाकलाप गरेको हुनसक्ने देखिएको पनि छानबीन समिति बनाएको बताइएको छ ।
सहायक प्रजिअ भट्टराईको संयोजकत्वमा समिति सदस्यहरुमा जिल्ला अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका कम्प्युटर सहायक विवेक थुलुङ रहनुभएको छ । समितिले पाँच दिनभित्र प्रतिवेदन बुझाउनेगरी जिम्मेवारी दिइएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिनुभयो ।
यता जिल्ला अस्पतालको फार्मेसीमा अनैतिक रुपमा औषधि बिक्री वितरण र आर्थिक अनियमितता भएको विषय बाहिरिएसँगै उपचार सेवासमेत प्रभावित भएको छ । आफूहरुमाथि आक्रमणको प्रयास भएकोभन्दै केही चिकित्सक मङ्गलबारदेखि काममा नफर्किएपछि अस्पतालको सेवा प्रभावित बन्दै आएको हो । आक्रमणको प्रयास भएपछि आफूहरु असुरक्षित भएकोभन्दै सुरक्षाको प्रत्याभूति नभएसम्म काममा नफर्कने पनि चिकित्सकहरुले बताउँदै आएका छन् ।
प्रजिअ पोखरेलका अनुसार चिकित्सकहरुले सुरक्षाको माग गरेपछि मङ्गलबार नै जिल्ला अस्पतालमा प्रहरी परिचालन गरिएको थियो । अस्पतालमा बीमा गरिएका बिरामीहरुको औषधि पूर्जा (प्रेस्किप्सन) मा लेखिएभन्दा बढी औषधि थप गरिएको विषयलाई लिएर जिल्ला अस्पतालको वातावरण अहिले असज बनेको हो । छानबीन समितिको प्रतिवेदनपछि अनियमितता भएको ठहरिएमा सम्बन्धित पक्षलाई कानुनबमोजिम कारबाही हुने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts