| |

बोतलमा पेट्रोल बिक्री गर्नेलाई कारबाही हुने

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १ ।
ताप्लेजुङमा बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री गर्नेलाई कारबाही गरिने भएको छ । पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्नु गैरकानुनी कार्य भएकाले यस्तो कार्य गर्नेलाई स्थानीय प्रशासनले कारबारी गर्ने भएको हो ।
बिनाअनुमति तथा गैरकानुनी रुपमा बोतलमा भरेर जताभावी पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यापारीलाई कारबाही हुने भएको हो । विश्व उपभोक्ता अधिकार दिवसका दिन मङ्गलबार जिल्ला प्रशासनसहित संयुक्त टोलीले सदरमुकाम फुङ्लिङ बजारको अनुगमन गरेको हो । बजार अनुगमनका क्रममा पानीको बोतलमा राखेर जताभावी पेट्रोलियम पदार्थ बिक्री गरेको भेटिएपछि यस्तो अवैध रुपमा प्रज्ज्वलनशील वस्तु पेट्रोल बिक्री वितरण गर्नेलाई कारबाही गरिने भएको हो ।
उपभोक्ता अधिकार दिवसका अवसरमा सचेतना फैलाउने कार्यक्रमसहित बजार अनुगमन भएकाले अवैध रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको पाइए पनि अनुगमन टोलीले अन्तिम मौकास्वरुप सम्बन्धित बिक्रेतालाई बुधबार बिहान १० बजेसम्ममा हटाउन निर्देशन दिएको छ । तोकिएको समयभित्र नहटाएमा वा बोतलमा राखेरै पेट्रोलियम पदार्थ बिक्री गरेको पाइएमा तत्काल जफत गरी बिक्रेतालाई कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराईले चेतावनी दिनुभएको छ ।
सदरमुकाम फुङ्लिङ बजारमा पहिलेदेखि नै तरकारी, किराना, फलफूलजस्ता पसलहरुमा व्यापारीले पानीको बोतलमा भरेर पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरेका छन् । यस्ता पसलहरुमा बिक्री गरिने कतिपय पेट्रोलियम पदार्थमा पानी वा अन्य तरल पदार्थ मिसाएर बिक्री हुने गरेको बताइँन्छ । यस्तै पेट्रोलियम पदार्थ अति प्रज्ज्वलनशील भएकाले आगलागीको जोखिम पनि उत्तिकै रहँदै आएको स्थानीयले बताउने गरेका थिए । यसरी विगतदेखि नै गैरकानुनी रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने गरिएको भए पनि नियमक निकाय भने मुकदर्शकजस्तै भएको उपभोक्ताको आरोप छ ।
त्यस्तै मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा म्याद गुज्रेका र सडे–गलेका खाद्य पदार्थहरु पनि फेला परेको अनुगमन टोली जनाएको छ । सदरमुकाम फुङ्लिङ बजारका माछा मासु पसलमा कुहिएको तथा सडेको माछामासु फेला परेको थियो । केही पसलमा निक्कै सडेको र कुहिएको माछा मासु फेला परेकाले जफत गरी नष्ट गरिएको सहायक प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
यता सडे–गलेको माछामासु बिक्री गरेको भेटिएपछि पुनः दोहोरिएको पाइएमा कानुनी कारबाही हुनेतर्फ सचेत गराइएको छ । यस्तै केही किराना पसलहरुमा म्याद गुज्रेका अखाद्य वस्तुहरु पनि फेला परेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts