तमोर नदीमा थापेको फड्केबाट खसेर मृत्यु
–उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २० । ताप्लेजुङस्थित तमोर नदीमा लगाएको काठको फड्के (कच्ची काठेपुल) बाट खसेर एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका ३७ वर्षीय सुरबहादुर कार्कीको फड्के साँघुबाट खसेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार कार्की बिहीबार एक छिमेकीको खेत जोत्नलाई गएका र साँझ कामबाट घर फर्कने क्रममा फड्केबाट खसेका थिए । शुक्रबार बिहान स्थानीयले फड्के रहेको ठाउँभन्दा केही तल कार्कीको शव फेला पारेपछि प्रहरीलाई खबर गरेका र स्थानीयको खबरपछि प्रहरी टोली पुगेर घटनाको मुचुल्का उठाएको थियो ।
यता कार्कीको शव शुक्रबार नै जिल्ला अस्पताल पु¥याएर पोष्टमार्टम गरी साँझतिर आफन्तलाई बुझाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । खेजेनिम र फक्ताङ्लुङ गाउँपालिकाकै वडा–३ लिङ्खिम जोड्नेगरी स्थानीयले तमोर नदीमा फड्के लगाएका छन् ।