| |

पेदाङको राष्ट्रिय माविमा मात्रै १६ वटा अक्षयकोष स्थापना

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन १५ ।
ताप्लेजुङको सिरिजङघा गाउँपालिका–५ पेदाङस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विभिन्न सोह्र वटा अक्षयकोष स्थापना भएका छन् । विद्यालयको समग्र शैक्षिक उन्नति तथा प्रगतिमा सहयोग पु¥याउने उद्देश्य राखेर स्थानीय शिक्षाप्रेमी तथा समाजसेवीहरुले अक्षयकोष स्थापना गरेका हुन् ।
जिल्लाका नौ वटा स्थानीय तहमा रहेका विद्यालयमध्ये धेरै सङ्ख्यामा अक्षयकोष स्थापना गरिएको राष्ट्रिय मावि पहिलो विद्यालय भएको पनि दावी गरिएको छ । स्थानीय केही समाजसेवी तथा शिक्षाप्रेमीले आफ्ना माता–पिताको सम्मानमा साथै केहीले दिवङ्गत माता–पिता र पुर्खाको स्मृतिमा अक्षयकोष स्थापना गरिदिएका विद्यालयका प्रधानाध्यापक हेमराज बुढाक्षेत्रीले जानकारी दिनुभयो ।
विद्यालयको समग्र शैक्षिक गुणस्तरमाथि उठाउने, विद्यालयलाई राम्रोसँग सञ्चालन गरी नमुना बनाउनमा सहयोग पु¥याउने साथै विभिन्न छात्रवृत्ति प्रदान गर्नका लागि दाताहरुले अक्षयकोष स्थापना गरी दिनुभएको प्रधानाध्यापक बुढाक्षेत्रीले बताउनुभयो । उहाँकाअनुसार विद्यालयको ५७ औं स्थापना दिवस तथा १० औं वार्षिक उत्सवको अवसरमा स्थानीय कमला भण्डारीले बुबा श्रीप्रसाद भण्डारी र आमा मदनकुमारी भण्डारीको सम्मानमा दुई लाख ५० हजार रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ ।
सोही अवसरमा स्थानीय राजेन्द्रप्रसाद भण्डारी, ज्ञानेन्द्रप्रसाद भण्डारी, खगेन्द्रकुमार भण्डारी र कुमार भण्डारीले पनि संयुक्त रुपमा आफ्ना बाबु भीमबहादुर भण्डारी र आमा देवकुमारी भण्डारीको सम्मानमा एक लाख पाँच हजार रुपियाँको अक्षयकोषको घोषणा गरिएको छ । उक्त विद्यालयमा यसअघि शम्सेर विष्णुमाया अक्षयकोष, धनकर्ण लिम्बू अक्षयकोष, शहीद जेडीडी स्मृति अक्षयकोष, काजीमान कुँवर अक्षयकोष, पदममाया चन्द्रबीर गौतम अक्षयकोष स्थापना गरिएको छ ।
त्यस्तै सोम जानुका भण्डारी अक्षयकोष, रुपध्वज गङ्गामाया भण्डारी, ताश्र्यदीप तेजमाया, थर्कबहादुर हस्तमाया, तार्षदीप लीलादेवी, एजवी एमवी, नरबीर र हरिजीव सत्यधर्म अक्षयकोष स्थापना गरिएका छन् । विद्यालयमा विभिन्न दाताहरुले स्थापना गर्नुभएको अक्षयकोषको रकम हालसम्म १० लाख १३ हजार ७४१ रुपियाँ भएको विद्यालयले जनाएको छ । अक्षयकोषको ब्याजबाट शैक्षिक गुणस्तर वृद्धि गर्नमा प्रोत्साहित गर्न गरिब, विपन्न तथा जेहेन्दार विद्यार्थीलाई नगद पुरस्कार, शैक्षिक सामग्री वितरण र अन्य शैक्षिक उन्नतिका गतिविधिमा खर्च गर्ने गरिएको प्रधानाध्यापक बुढाक्षेत्रीले बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेलप्रसाद बुढाक्षेत्रीले दाताहरुद्वारा स्थापना गरिएको अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमको ४५ प्रतिशत छात्रवृत्ति, पुरस्कार र सम्मान खर्च गर्ने गरिएको छ । त्यस्तै ४५ प्रतिशत विद्यालयको पूर्वाधार निर्माण र १० प्रतिशत कोषमा नै जम्मा गर्ने निर्णय गरी सोहीअनुसार रकम परिचालन गर्दै आएको बुढाक्षेत्रीले बताउनुभयो । उहाँले विद्यालयको शैक्षिक विकास र उन्नतिका लागि अझै धेरै कार्य गर्नुपर्ने आवश्यकता रहेकाले इच्छुक दाताहरुलाई अक्षयकोषमा सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
यता शुक्रबार र शनिबार दुई दिन विद्यालयको स्थापना दिवस र वार्षिक उत्सवको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरिएको छ । अन्तर प्राविस्तरीय नृत्य प्रतियोगिता र साविक वडास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ । विव्यस अध्यक्ष खेलप्रसाद बुढाक्षेत्री (पराग) को अध्यक्षता तथा सिरिजंघा गाउँपालिका उपाध्यक्ष ज्ञानमाया चौहान गौतमको प्रमुख आतिथ्यतामा शुक्रबार कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको थियो ।
उद्घाटनमा प्रधानाध्यापक हेमराज बुढाक्षेत्रीले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो भने विद्यालयकी लेखा शिक्षक मेनुका भट्टराईले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । कार्यक्रमकाबीच विद्यालयलाई सहयोग गर्ने सहयोग तथा अक्षयकोषदातालाई सम्मानसमेत गरिएको थियो । बिद्यार्थीहरुले मार्च पाससहित आकर्षक कला प्रस्तुत गरेका थिए । शनिबार भलिबलका बिजेतालाई पुरस्कार वितरणसहितका कार्यहरु गर्दै स्थापना तथा वार्षिक उत्सवको कार्यक्रम सम्पन्न गरिएको विद्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts