| |

ब्याडमिन्टन खुल्ला ‘ए’ समूहतर्फ दीपक र दिपेन प्रथम

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन १५ ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा सम्पन्न जिल्लास्तरीय खुल्ला ब्याडमिन्टन प्रतियोगितामा दीपक तिवारी र दिपेन गुरुङको जोडी प्रथम भएको छ । बसन्त गुरुङ र सागर गुरुङको जोडीलाई पराजित गर्दै तिवारी र गुरुङको जोडी प्रथम भएको हो ।
सिनियर अर्थात खुल्ला ‘ए’ समूहतर्फ प्रथम बन्न सफल तिवारी र गुरुङको जोडीले ट्रफी, मेडल, प्रमाणपत्रसहित ४० हजार ५५५ रुपियाँ नगद पुरस्कार पाएको छ । उपविजेता (द्वितीय) बनेको बसन्त र सागरको जोडीले ३० हजार ५५५ रुपियाँ नगद, मेडल र प्रमाणपत्र पाउनुभयो । प्रथम र द्वितीय दुवै जोडी (टोली) फुङ्लिङ नगरपालिकाबाट सहभागी बन्नुभएको हो ।
यस्तै जुनियर अर्थात खुल्ला ‘बी’ समूहतर्फ मेरिङ्देन गाउँपालिकाका युवराज बोगटी र रमेश चोङ्बाङको जोडी प्रथम भएको छ । प्रथम बन्न सफल युवराज र रमेशको जोडीले ट्रफी, मेडलसहित ३५ हजार ५५५ रुपियाँ नगद पुरस्कार पाएको छ भने द्वितीय बनेको मेरिङ्देन गाउँपालिकाकै विकास तामाङ र गजेन्द्र नाल्बोको जोडीले २५ हजार ५५५ रुपियाँ नगद पाएको छ ।
कर्मचारीतर्फ पाथीभरा याङ्वरक गाउँपालिकाका केशव पौडेल र शिवकुमार काम्बाङको जोडी प्रथम भएको छ । उक्त जोडीले प्रथम हुँदै ३५ हजार ५५५ रुपियाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । मिक्वाखोला गाउँपालिकाका विमल यक्सो र मानबहादुर लिम्बूको जोडीले कर्मचारीतर्फ द्वितीय हुँदै २५ हजार ५५५ रुपियाँ नगद पुरस्कार पाएको छ ।
यता खुल्ला ‘ए’ समूहमा क्रमशः मिक्वाखोलाका गजेन्द्र थलङ र डिकबहादुर राउत, मेरिङ्देनका विकास तामाङ र युवराज बोगटीको टोलीले सान्तवना जित हात पारेको छ । त्यस्तै खुल्ला ‘बी’ समूहतर्फ मिक्वाखोलाका प्रताव साँबा र मिङ्मा शेर्पा तथा मेरिङ्देनका ज्ञानु तेम्बे र उदय यादवको जोडी सान्तवना भएका छन् । कर्मचारीतर्फ भने गजेन्द्र थलङ र चन्द्रप्रसाद साँबा तथा मिङ्मा शेर्पा र सुवास लिम्बूको जोडी सान्तवना भएका छन् । सान्तवना सबै जोडीलाई पाँच हजार रुपियाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ ।
मिक्वाखोला गाउँपालिकाको आर्थिक सहयोग र मिक्वाखोला ब्याडमिन्टन संघको आयोजनामा जिल्लास्तरीय ब्याडमिन्टन प्रतियोगिता सञ्चालन गरिएको हो । शुक्रबार र शनिबार सञ्चालित प्रतिायोगितामा खुल्ला ‘ए’ समूहतर्फ आठ, ‘बी’ समूहतर्फ २४ र कर्मचारतर्फ १५ जोडी (टोली) ले सहभागिता जनाएका मिक्वाखोला ब्याडमिन्टन संघका अध्यक्ष गजेन्द्र थलङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा जिल्लाका नौवटै स्थानीय तहलाई सहभागिताका लागि पत्राचार गरिएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts