‘परिचयपत्र नभएकै कारण मतदानबाट बञ्चित गर्न पाइदैंन’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १५ । ताप्लेजुङका राजनीतिक दलहरुले मतदाता परिचयपत्र नभएकै कारण मतदानबाट बञ्चित नहुने व्यवस्था गर्न निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् । वालिग मताधिकारको रुपमा मतदाता नामावलीमा नाम दर्ता÷कायम भएको तर परिचयपत्र नभएकै कारण मतदानबाट बञ्चित हुने हो भने यसले मतदाताको अधिकारमा ठेस पुग्ने उनीहरुको तर्क रहेको छ ।
मतदाता नामावली अद्यावधिक(दावी बिरोध समेत) कार्य सुरु हुन लागेको सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले सदरमुकाम फुङ्लिङमा आयोजना गरेको कार्यक्रममा सरोकारवालाहरुले यस्तो आग्रह गरेका हुन् । मतदातामा नामावलीमा नाम भएको तर परिचयपत्र नभएको अवस्थामा मतदानबाट बञ्चित गर्ने हो भने यसले सिङ्गो लोकतन्त्र माथि प्रहार हुने एमाले जिल्ला उपसचिव दीपेन पोमूले बताउनुभयो । काँग्रेस जिल्ला उपसभापति डिल्लीरमण बरालले मतदाता नामावलीमा नाम कायम भएको अवस्थामा उसले मतदान गर्नुुपाउनु उसको अधिकार भएको भन्दै कुनै परिचयपत्रका कारण मतदानबाट बञ्चित हुन नहुनेमा जोड दिनुभयो । माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य ठाकुरसिंह लिम्बूले कित सबैको मतदाता परिचयत्रपत्र छपाइ गरी सबैलाइ पु¥याउने व्यवस्था गर्न नभए परिचयपत्र नभएपनि मतदानबाट बञ्चित नगराउन आग्रह गर्नुभयो । नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव मोहन न्यौपानेले परिचयपत्र नभएपनि नागरिकता वा अन्य कुनै भरपर्दो प्रमाणका आधारमा मतदाताले मतदान गर्न पाउनुपर्नेमा जोड दिनुभयो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङले मृत्यु भएका मतदाताको नाम उनीहरुका आफन्तले हटाउँछन् वा हटाउँदैनन् भन्नेमा शंसय रहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित अन्य राजनीतिक दल तथा जनप्रतिनिधिहरुले परिचयपत्र हराएमा सोहि कारणबाट मतदानबाट बञ्चित हुने हो भने बिकराल समस्या आउने भन्दै परिचयपत्र हराएका मतदातालाइ बैकल्पिक व्यवस्थामार्फत मतदानमा सहभागी गराउने वातावरण बनाउन आग्रह गरेका छन् । निर्वाचन आयोगले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै मतदाता परिचयपत्र हराए वा नष्ट भएमा यहिँ फागुन २० गते भित्रमा सरोकारवाला स्वयंले सम्वन्धित वडा कार्यालयको सिफारिस सहित आफ्नो मतदातामा नामावली रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा निबेदन दिनुपर्ने भनेको थियो । पछि केहि लचिलो भएर इमेल वा फ्याक्समार्फत यस्तो सिफारिस आफ्नो मतदातामा नामावली रहेको जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा पठाउन सक्ने व्यवस्था गरेको छ । कार्यक्रममा जिल्ला समन्वय प्रमुख घनेन्द्र मादेन,सबै स्थानीय तहका प्रमुख,प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल सहितका सुरक्षा निकायका प्रमुख,निजी क्षेत्र र नागरिक समाजका अगुवाको उपस्थिति रहेको थियो ।
यसरी हुने छ अद्यावधिक कार्य
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले फागुन १९ गते सम्वन्धित वडा कार्यालय र प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा मतदाता नामावली प्रकाशन गर्ने भएको छ । जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईका अनुसार मतदाताले प्रकाशित नामावलीको त्रुटी सच्याउन सम्वन्धित मतदाता वा निजको परिवारका सदस्यले फागुन २० देखि २२ गते सम्ममा प्रमुख नाम दर्ता अधिकारी समक्ष निबेदन दिनुपर्ने छ । यस्तै मतदाता नामावलीमा कसैले झुुठो बिबरण दिई नामावलीमा नाम समाबेश गरेको भए सोको बिरोधमा फागुन २० देखि २२ गते सम्ममा कुनै पनि व्यक्तिले उजुरी दिन सक्नेछ ।
प्रकाशित मतदाता नामावलीमा कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समाबेश भएकोमा एक स्थानमा मात्र कायम गर्न सम्वन्धित मतदाताले निबेदन दिनुपर्ने छ । यसोगर्दा एकै स्थानीय तह वा फरक–फरक स्थानीय तह वा एकै जिल्ला भित्रको भए प्रमुख नाम दर्ता अधिकारीको कार्यालयमा र फरक–फरक जिल्ला भएमा प्रमुख नामदर्ता अधिकारीमार्फत आयोगमा निबेदन दिनुपर्ने हुन्छ । प्रकाशित मतदाता नामावलीमा मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनुु पर्ने भएमा सम्वन्धित मतदाताको एकाघरको सदस्य वा अन्य कुनै व्यक्तिले निबेदन गर्न सक्ने छ । अद्यावधिक कार्य अन्र्तगत एकै वडाको दुईवटा मतदान स्थल भएमा मतदाताले पायकपर्ने मतदान स्थलमा मतदाता नामावली सार्न सकिने भएको छ । तर नयाँ नामदर्ता,थप्न र ठाउँसार्न भने पाइदैंन ।
ताप्लेजुङमा करिव ९१ हजार मतदाता
ताप्लेजुङमा २०७९ साल बैशाख २९ गते सम्म १८ बर्ष पूरा भइ लागि मताधिकारयोग्य रहेको संख्या ९० हजार ७ सय ३५ रहेको छ । यसमध्ये ४८ हजार २ सय ४६ पुरुष र ४२ हजार ४ सय ८९ महिला मतदाता रहेका छन् । जस अनुसार फुङलिङ नगरपालिकामा १७ हजार २ सय २९,आठराइ त्रिबेणीमा ९ हजार ८ सय ३२,फक्ताङ्लुङमा ८ हजार ९ सय ९१,मिक्वाखोलामा ७ हजार २५,पाथीभरा याङ्वरक १० हजार ८४,सिरिजंगामा ११ हजार ८ सय ५७,सिदिङ्वामा ९ हजार २७,मेरिङदेनमा ८ हजार ७ सय २६ र मैवाखोलामा ७ हजार ८ सय ९४ जना मतदाता कायम भएका छन् ।