| |

कञ्चनजंघा भ्रमणमा कोरोना महामारीको असर

अरुलाई पनि शेयर गरौ !

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन १० ।
ताप्लेजङस्थित विश्वको तेस्रो आग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रको भ्रमण गर्ने पर्यटकमा कोरोना महामारीले नराम्ररी असर पुगेको छ । कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटक बिस्तारै वृद्धि हुँदै गर्दा महामारीको असर सुरु भएपछि अत्यन्तै न्युन पर्यटकले मात्र भ्रमण गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ । यो समयमा थोरै सङ्ख्यामा पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यववस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा ज्यादै न्युन सङ्ख्या ४३ जनाले मात्र भ्रमण गरेका छन् ।
यस्तै दोस्रो वर्ष अर्थात चालू आर्थिक वर्ष २०७८/७९ को हाल सम्ममा करिव डेढ सय पर्यटकले मात्र कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । चालू आवको पहिलो सिजन (मौसम) मा कुल १४१ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ । पछिल्लो दशक कञ्चनजङ्घामा थोरै अनुपातले पर्यटक वृद्धि हुन थालेका बेला कोरोना महामारीले नराम्ररी असर पु¥याएको पर्यटन व्यवसायी बताउँछन् ।
यसरी झण्डै दुई वर्षसम्म सुनसानजस्तै बनेको कञ्चनजङ्घा क्षेत्र चालू आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिक महिनामा अमेरिका, फ्रान्स, ताइवान लगायतबाट पर्यटक भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिनुभयो ।
चालू आवको पहिलो सिजनमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गएका एक ताइवानका नागरिकसहित पाँच जना आरोहीले कञ्चनजङ्घाको सफल आरोहणसमेत गरेका छन् । कञ्चनजङ्घा आरोहण गर्नेमा ताइवानका सेङ को अथ, नेपाली दोलखाका निमाग्याल्जेन शेर्पा, पासाङ्रिन्जे शेर्पा, सोलुखुम्बुका ग्लाल्जे शेर्पा र दाकिपा शेर्पा रहेका छन् । परिषद् कार्यालयका अनुसार कञ्चनजङ्घामा आउने बाह्य तथा आन्तरिक पर्यटकमध्ये केही हिमाल आरोहण गर्ने र कोही आधार शिविर भ्रमणको योजनामा मात्र आउने गर्दछन् ।
यता कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ जना पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ । तथ्याङ्कअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८०६ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । हरेक वर्ष साढे पाँचसय, साढे छ सय र साढे सात सय सम्मको हाराहारीमा पर्यटक आउने गरेका थिए ।
कोरोना महामारीको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेपछि पर्यटन विकासमा अवरोध पुग्नुका साथै यसबाट हुने आम्दानी गुमाउनुपरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताउनुभयो । फेम्बूले महामारीको असर समाप्त भएमा कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या भने विगतभन्दा दोब्बर बढीले वृद्धि हुने बताउनुभयो । उहाँकाअनुसार कञ्चनजङ्घा क्षेत्रमा क्रमशः विकास भइरहेको पदमार्ग, होटल, अन्य पूर्वाधारसहित आवश्यकीय व्यवस्थापनले भ्रणण सहज हुने भएपछि पर्यटकको सङ्ख्या वृद्धि हुने छ ।
यस्तै ताप्लेजुङ र संखुवासभाको सीमाक्षेत्र लुम्बासुम्बा हुँदै मकालु हिमालको भ्रमणमा जाने पर्यटक पनि ताप्लेजुङ हुँदै आउन थालेका छन् । ओलाङ्चुङगोला हुँदै पश्चिमको दार्चुला जोड्ने ग्रेट हिमालयन ट्रेल (पूर्व–पश्चिम पदमार्ग) को पूर्वी शुरुवात विन्दू यहीँ भएकाले जिल्लामा थप पर्यटकको सङ्ख्या वृद्धि हुँदै जाने कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts