| |

तमोर नदीमा काठको अस्थायी मोटरेवल पुल निर्माण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ४ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा काठको मोटरेवल पुल निर्माण गरेको छ । हिउँद याममा गाउँ–गाउँसम्म यातायात सुविधा पु¥याउने उद्देश्यले गाउँपालिकाले तमोर नदीको विभिन्न ठाउँमा काठको अस्थायी मोटरेवल पुल निर्माण गरेको हो ।
जिल्लाकै विकट तथा दुर्गम हिमाली क्षेत्रमा पर्ने फक्ताङ्लुङ गाउँपालिकाले तमोर नदीमा छुट्टा–छुट्टै तीन ठाउँमा अस्थायी मोटरेवल पुल निर्माण गरेको छ । तमोरको वारिपारि अर्थात दुवैपट्टि फक्ताङ्लुङ गाउँपालिकाको क्षेत्र पर्दछ । गाउँ–गाउँसम्म सडकको पहुँच पुगेपनि तमोर नदीमा पुल नहुँदा नागरिकले यातायात सुविधा उपभोग गर्नबाट बञ्चित हुनुपरेको अवस्थालाई दृष्टिगत गरी काठेपुल निर्माण गरेको गाउँपालिकाले जनाएको छ ।
फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्ता छेतेन शेर्पाकाअनुसार वडा नं. २ खेजेनिम र वडा नं. ३ लिङ्खिम जोड्नेगरी सिँवामा काठको अस्थायी मोटरेवल पुल निर्माण गरिएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–४ इखाबु तथा वडा नं. ५ तापेथोकको तल्लो छेउ जोड्ने गरी छिरुवा र तापेथोककै माथिल्लो वा अर्को छेउ र वडा नं. ६ लेलेप जोड्नेगरी तापेथोक बगरमा काठेपुल निर्माण गरिएको प्रवक्ता शेर्पाले जानकारी दिनुभयो ।
उहाँकाअनुसार प्रत्येक पुल तीन लाख ५० हजारदेखि चार लाख रुपियाँसम्म रकम खर्च गरेर निर्माण गरिएका हुन् । फक्ताङ्लुङ गाउँपालिकाले विगत केही वर्षयता प्रत्येक हिउँदको समयमा स्थानीय नागरिकलाई यातायात सुविधा पु¥याउनेगरी काठको मोटरेवल पुल निर्माण गर्दै आएको छ । हाल गाउँ–गाउँसम्म सडकको पहुँच विस्तार भइसकेको अवस्थामा हिउँद याममा मात्र भए पनि स्थानीय जनतालाई यातायात सुविधा पु¥याउन काठको अस्थायी पुल निर्माण गर्दै आएको गाउँपालिका अध्यक्ष सरोज एभेङले बताउनुभयो । तमोर नदीमा पक्की मोटरेवल पुल नबनेसम्म काठको मोटरेवल पुल बनाउनुपर्ने अवस्था रहेको पनि अध्यक्ष एभेङको भनाइ छ ।
सात वटा वडा रहेको पालिकामा हाल वडा नं. ७ ओलाङ्चुङगोलाबाहेकका सबै वडाका गाउँ–गाउँसम्म सडकको पहुँच पुगेको छ भने विस्तारको क्रम पनि चलिरहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो दुई÷तीन वर्षयता एक याम अर्थात हिउँदमा मात्र भए पनि तमोर नदीमा काठको अस्थायी पुल निर्माण हुने गरेकाले स्थानीयलाई राहत पुग्दै आएको छ ।
यातायात सुविधाअन्तर्गत स्थानीयले लामो तथा छोटो दूरीको यात्रा गर्नु परेमा गाउँबाटै अहिले उक्त सुविधा पाएका छन् भने आवश्यक सामान ढुवानी र निकासी गर्नुपरेमा पनि सहज भएको छ । काठको मोटरेवल पुलको सुविधा हिउँद यामभर अर्थात पुसदेखि तमोर नदीमा पानी नबढ्दासम्म वा जेठ महिनासम्म उपभोक्ताले उपभोग गर्न पाउँदछन् । फक्ताङ्लुङ गाउँपालिकाको वडा नं. १ सावादिन, वडा नं. २ खेजेनिम, वडा नं. ४ इखाबु र वडा नं. ६ लेलेपको आधा भाग नदीको एकातिर र वडा नं. ३ लिङ्खिम, वडा नं. ५ तापेथोक, वडा नं. ७ ओलाङ्चुङगोला र लेलेपको आधा भाग अर्कोतिर पर्दछ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts