| |

ताप्लेजुङमा निर्वाचन लक्षित गतिविधिमा केन्द्रित हुँदै दलहरु

अरुलाई पनि शेयर गरौ !

टीका यक्सो लिम्बू
ताप्लेजुङ, फागुन ४ ।
ताप्लेजुङमा क्रियाशील राजनीतिक दलहरुले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर गतिविधि गर्न थालेका छन् । सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै जिल्लामा दलहरुले निर्वाचन केन्द्रित राजनीतिक गतिविधि सुरु गरेका हुन् ।
यतिबेला सत्तारुढ तथा साझेदार दल नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल लगायतले पार्टीको कार्यक्रमहरु निर्वाचन केन्द्रित गर्न थालेका छन् । यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि निर्वाचन लक्षित कार्यक्रमहरु गर्न थालेको छ । सत्तारुढ दल काँग्रेस र प्रतिपक्ष एमाले एकल रुपमा निर्वाचनमा जान चाहेका बताइएको छ ।
सत्ता साझेदार दल माओवादी केन्द्र केहीबाहेक अधिकांस स्थानीय तहमा गठबन्धन गरेर जान पाए सुरक्षित हुन सकिने दाउमा रहेको छ भने अन्य एकीकृत समाजवादी, जसपा लगायत साना दलहरु गठबन्धनबाटै निर्वाचनमा सहभागी हुन पाए आफ्नो केही स्थान सुरक्षित गर्न सकिनेगरी योजना बनाइरहेका बुझिएको छ । जिल्लामा बाँकी सङ्घीय लिम्बुवान मञ्च नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायत क्रियाशील रहेका छन् ।
खासगरी सत्ताघटक दल काँग्रेस, माओवादी केन्द्र र प्रतिपक्ष एमालेले निर्वाचनलाई केन्द्रित गरेर आफ्ना कार्यक्रम गर्न थालेका हुन् । एक नगरपालिकासहित नौवटा स्थानीय तह रहेको जिल्लामा पालिका हुँदै, वडा र टोलटोलमा पुगेर दलहरुले भेला, अन्तक्र्रिया, पार्टी प्रवेश लगायतका गतिविधि गरिरहेका छन् । औपचारिक नभए पनि अनौपचारिक रुपमा नै दलका नेता–कार्यकर्ताले चुनावी रणनीति बनाउन र नजिताको आँकलन तथा जोड घटाउसमेत गर्न थालेका बुझिएको छ ।
नेपाली काँग्रेसका जिल्ला सभापति गजेन्द्र तुम्याहाङले पार्टीको स्थानीय तह तथा वडा समितिलाई पूर्णता दिने र सपथग्रहणको कार्यक्रमहरु भइरहेको बताउनुभयो । पार्टी समितिको सपथग्रहण तथा सभाहरुमा निर्वाचनसम्बन्धी प्रसङ्ग उठ्न थालेको तुम्याहाङले बताउनुभयो । उहाँकाअनुसार उम्मेदवार बनाउने र पठाउने विषयमा भने छलफल सुरु भइसकेको छैन ।
यस्तै नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग)ले पनि सरकारले स्थानीय तहको निर्वाचन गर्ने मिति सार्वजनिक गरेपछि निर्वाचन लक्षित क्रियाकलाप सुरु गरेको बताउनुभयो । उहाँले निर्वाचन जसरी पनि गर्नुपर्ने र नतिजा आफ्नो पक्षमा पार्ने योजनासहित अहिले अनौपचारिक रुपमा राजनीतिक क्रियाकलाप सुरु भएको जानकारी दिनुभयो । नेकपा एमालेका जिल्ला उपाध्यक्ष सन्तोष खतिवडाले पनि निर्वाचन लक्षित गतिविधि सुरु गरेको बताउनुभयो । खतिवडाले पार्टीको निर्वाचन लक्षित प्रदेशस्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रममा आफूहरु सहभागी हुँदै आएको र जिल्लामा पनि गतिविधिहरु भइरहेको जानकारी दिनुभयो ।
यता अब हुने स्थानीय तहको निर्वाचनमा अधिकांस स्थानीय तहका हाल रहेका पदाधिकारीहरु आफैँले दोहो¥याउने मनिस्थितिमा रहेका बुझिएको छ । फुङ्लिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलसहित अधिकांस गाउँपालिकाका अध्यक्षहरुले आगामी निर्वाचनमा पनि आफैंले दोहो¥याउने गरी हाल कसरत गरिरहेका पाइएको छ । कतिपय जनप्रतिनिधिले पार्टीको अधिवेशनहरुदेखि नै आफ्नो योजना सहज हुनेगरी पहल गरेको देखिन्छ ।
उता आफूखुशी र जताभावी आकाङ्क्षा वा उम्मेदारी घोषणा नगर्न पार्टीको माथिल्लो निकायबाट निर्देशन हुनाले कोहीबाट पनि आफ्नो आकांक्षा सार्वजनिक भने गरिएको छैन । यसअघि २०७४ सालको निर्वाचनमा जिल्लाको नौमध्ये काँग्रेस चार र एमाले पाँच स्थानीय तहमा निर्वाचित भएको थियो । माओवादी केन्द्र भने दुई स्थानीय तहको उप–प्रमुखमा मात्र निर्वाचित भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts