| | |

यो वर्ष पाँच वर्षयताकै राम्रो मूल्यमा अलैँचीको कारोबार

अरुलाई पनि शेयर गरौ !

अनिता इवारम
ताप्लेजुङ, फागुन ३ ।
ताप्लेजुङको प्रमुख नगदेबालीको रुपमा रहेको अलैँची यसवर्ष विगत पाँच वर्ष यताकै राम्रो मूल्यमा कारोबार भएको छ । पछिल्लो केही वर्षयता निरन्तर गिरावट हुँदै आएको अलैँचीको मूल्य यो वर्ष विगत पाँच वर्षयताकै राम्रो अर्थात बढी मूल्यमा कारोबार भएको हो ।
यसवर्ष अलैँचीको नयाँ उत्पादन (फसल) बजारमा आउन थाल्दादेखि नै तुलनात्मक रुपमा राम्रो मूल्यमा कारोबार भएको थियो । सुरुमा अलैँची प्रतिमन (४० किलोग्राम) ३२ देखि ३५ हजार रुपियाँ सम्ममा कारोबार हुँदा मूल्य सन्तोषजनक भएकोभन्दै किसान तथा व्यवसायी उत्साहितसमेत भएका थिए । निरन्तर घटिरहेको अलैँचीको मूल्य यो वर्ष सुरुमै वृद्धि भएर पछि मुख्य सिजनमा पनि राम्रै मूल्यमा कारोबार हुँदा स्थानीय किसान तथा व्यवसायीमा थपिएको उत्साह कायम रहन पाएको छ ।
यसरी अलैँचीको यसवर्षको मूल्य विगत पाँच वर्ष यताकै राम्रो भएको बताइएको छ । फुङ्लिङ बजारका स्थानीय व्यवसायी दिनेश अधिकारीले यो वर्ष अलैँची कारोबारको मुख्य सिजन पुस महिनामा प्रतिमन ४६ हजार रुपियाँ सम्ममा कारोबार भएको बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका अधिकारीका अनुसार पछिल्लो केही वर्षयता कारोबार भएको अलैँची मूल्यको तुलनामा यो वर्ष प्रतिमन १८ देखि २० हजार रुपियाँले बढी हो ।
व्यवसायी अधिकारीले हिजोआज अलैँचीको मूल्य केही घटे पनि स्थानीय बजारमा प्रतिमन ३९ हजार रुपियाँ सम्ममा कारोबार भइरहेको जानकारी दिनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिमन २२ देखि २६ हजार रुपियाँ सम्ममा अलैँचीको कारोबार भएको थियो । त्यस्तै आर्थिक वर्ष २०७६/७७ मा प्रतिमन २४ देखि २८ हजार रुपियाँ र २०७५/७६ मा २० देखि २५ हजार रुपियाँ सम्ममा अलैँची कारोबार भएको थियो । आव २०७४/७५ मा २६ हजार र २०७३/७४ मा प्रतिमन ४२ हजार रुपियाँ सम्ममा अलैँची कारोबार भएको ताप्लेजुङ उद्योग बाणिज्य संघको तथ्याङ्क रहेको छ ।
आजभन्दा पाँच वर्षअघि अर्थात आर्थिक २०७२/७३ मा ताप्लेजुङमा अलैँची प्रतिमन एकलाख पाँच हजार रुपियाँ सम्ममा कारोबार भएको तथ्याङ्क छ । तथ्याङ्कअनुसार आव २०७१/७२ मा पनि प्रतिमन ९० हजार रुपियाँ सम्ममा अलैँचीको कारोबार भएको थियो । अलैँची प्रतिमन एक लाख रुपियाँ हाराहारीमा कारोबार हुँदा–हुँदै मूल्य ह्वात्तै घटेको र पछिल्लो पाँच वर्षसम्म निरन्तर घटेको अलैँची व्यवसायीको भनाइ छ । यो वर्ष भने भूटान, भारतको सिक्किम, आसाम राज्य लगायतमा उत्पादन घटेपछि नेपालमा उत्पादित अलैँचीको मूल्य वृद्धि भएको व्यवसायी बताउँछन् ।
यता यसवर्ष मूल्य वृद्धिसँगै जिल्लामा अलैँची उत्पादन वृद्धि भएकाले किसान तथा व्यवसायीले राम्रै फाइदा लिएका छन् । कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङकाअनुसार गत वर्षभन्दा यसवर्ष अलैँची उत्पादन वृद्धि भएको छ । जिल्लामा अलैँची खेती गरिएको चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरको खेतीबाट यो वर्ष दुईहजार ९८० मेट्रिकटन उत्पादन भएको छ । गतवर्ष सोही क्षेत्रफलमा दुई हजार ९६० मेट्रिकटन मात्र अलैँची उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क रहेको छ । जिल्लाको नौ स्थानीय तहका ६१ वडामध्ये ओलाङ्चुङगोलाबाहेक ६० वटा वडामा अलैँची खेती गर्ने गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts