ताप्लेजुङका १ सय २३ गरिव तथा बिपन्न घर परिवारलाइ प्रशासन कार्यालयद्धारा न्यानो कपडा बितरण सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २४ । जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले यहाँका बिपन्न समुदायका १ सय २३ घर परिवारलाइ न्यानो कपडा बितरण गर्न सुरु गरेको छ ।
नेपाल सरकार गृह मन्त्रालयबाट प्राप्त बिपन्न समुदायका लागि न्यानो कपडा बितरण कार्यक्रममार्फत ९ स्थानीय तहका १ सय २३ घरपरिवारका सदस्यलाइ न्यानो कपडा प्रदान गरिने प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । उहाँका अनुसार ताप्लेजुङका ६१ वटा वडामध्ये फुङ्लिङ नगरपालिका वडा नं ५ का ३ र अन्य ६० वटा वडाका २–२ गरी १ सय २३ बिपन्न घर परिवार सदस्यले न्यानो कपडा पाउने छन् । सोमवार फुङलिङ नगरपालिका भित्रका वडाहरुका बिपन्न समुदायका सदस्यलाइ न्यानो कपडा बितरण गरिएको र अन्य पालिकाहरुमा मंगलवार पठाइने प्रजिअ पाण्डेले जानकारी दिनुभयो ।
जिल्ला बिपद् व्यवस्थापन समितिको बैठकले ४ लाख मूल्य बराबरको न्यानो कपडा खरिद गरी जिल्लाभरका पालिकाका गरिव र बिपन्न परिवारका सदस्यलाइ बितरण गर्ने दायित्व जिल्ला प्रशासन कार्यालयलाइ दिएको थियो । सोहि अनुसार सो रकम बराबरको रकम खर्चिएर न्यानो कपडा(प्रत्येकलाइ १–१ थान ब्लाङकेट) बितरण गरिएको प्रशासन कार्यालयले जनाएको छ । सरकारले चिसो,हिमपात र शितलहरबाट नागरिकको जीवन जोखिममा पर्न नदिन तराइका जिल्लालाइ ८ लाख,पहाडका जिल्लालाइ ६ लाख र हिमाली जिल्लालाइ ४ लाख रुपैंयाका दरले न्यानो कपडा खरिद गरी गरिव र बिपन्न परिवारका सदस्यलाइ बितरण गर्ने व्यवस्था गरेको थियो । सोहि अनुरुप हिमाली जिल्लाको ताप्लेजुङका लागि प्राप्त ४ लाख बजेटबाट न्यानो कपडा खरिद गरी गरिव र बिपन्न परिवारका सदस्यलाइ बितरण गरिएको प्रशासन कार्यालयले जानकारी दिएको छ ।
प्रत्येक वडाले आफ्नो वडाभित्र रहेका गरिव र बिपन्न २ परिवारलाइ न्यानो कपडा पाउनेको सूची तयार गरी सम्वन्धित पालिकामार्फत प्रशासन कार्यालयलाइ सिफारिस गरेका थिए । सम्वन्धित वडा र पालिकामार्फत प्राप्त भएको सिफारिसका आधारमा न्यानो कपडा पाउन योग्यहरुको सूची तयार भएको प्रशासन कार्यालयले जनाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी पाण्डे,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुङका प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्का लगायतको उपस्थितिमा न्यानो कपडा बितरण कार्यको शुभारम्भ गरिएको छ ।