|

ताप्लेजुङका अधिकाँस मेडिकलहरुमा सिटामोलको अभाव,सञ्चालक भन्छन्‘माग गर्दा पनि पाइएन’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ ११ । ताप्लेजुङका अधिकाँस मेडिकल हलहरुमा सिटामोलको अभाव रहेको पाइएको छ । जिल्ला बजार अनुगमन समितिको अगुवाइ तथा फुङ्लिङ नगरपालिका र घरेलु कार्यालय ताप्लेजुङको संयोजनमा मंगलवार फुङ्लिङका मेडिकल पसलहरुमा गरिएको अनुगमनका क्रममा यस्तो पाइएको हो ।

अनुगमनका क्रममा अधिकाँस मेडिकल पसलहरुमा सिटामोलको अभाव रहेको देखिएको अनुगमन कार्यदल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काले बताउनुभयो । अनुगमन टोलीले शाक्य मेडिकल,अजय मेडिकल हल,लाइफ फार्मेसी,ग्लोबल मेडिकल हल,एपोलो मेडिकल हल,पुजा मेडिकल,अर्जुन मेडिको र चौधरी मेडिकल हलमा पारा सिटामोलको मौज्दातामात्रा बारे अध्ययन गरेको थियो । ति २ बाहेक अधिकाँस मेडिकल हलहरुमा कुनैमा शुन्य,कुनैमा सय र अरुमा २ सय देखि ४ सय चक्की सम्म सिटामोलको मात्रा कम रहेको जानकारी मेडिकल सञ्चालकले दिएको अनुगमन समितिले जनाएको छ । ति दुईवटा पसलमा पनि एउटामा करिव ५ हजार र अर्कोमा करिव ४ हजार चक्की सिटामोलको मात्रा रहेको जानकारी मेडिकल सञ्चालकले अनुगमन समितिलाइ दिएका छन् । तर खपत बढी हुने गरेका कारण त्यसले मात्र माग धान्न सक्ने अवस्था नरहेको पाइएको छ ।

२ बाहेक अरु पसलहरुमा भने पारा सिटामोलको मात्रा ज्यादै कम रहेको पाइएको छ । झोल औषधि र ब्रुफिन मिसिएको औषधि भने प्राय अधिकाँस मेडिकल पसलहरुमा केहि मात्रामा रहेको पाइएपनि त्यो प्रर्याप्त भने नरहेको अनुगमन समितिले जनाएको छ । ताप्लेजुङ जिल्ला अस्पतालमा भने २ लाख ६ हजार बढी सिटामोल चक्की मौज्दात रहेको अस्पतालकी नर्सिङ निरीक्षक बिजया राईले जानकारी दिनुभयो । राईका अनुसार त्यो मध्ये अधिकाँस चक्की अबको ६ महिना भित्र उपभोग गरिसक्नु पर्छ । तमोर अस्पतालमा पनि पारा सिटामोलको मौज्दात मात्रा कम रहेको पाइएको छ । खपत बढी हुने र आपूर्ति कम हुने अवस्थाका कारण मेडिकल हलहरुमा सिटामोलको मौज्दात कम भएको लाइफ फार्मेसीका सञ्चालक नारायण ओझाले बताउनुभयो । एपोलो मेडिकल हलका प्रोपाईटर दीपेन्द्र पौडेलले खरिद गर्ने ठाउँमै पारा सिटामोलको अभाव रहेकोले आफुहरुले माग गर्दा पनि पाउन नसकेको बताउनुभयो ।

अनुगमनमा रहनु भएका फुङ्लिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले मेडिकल सञ्चालकहरुले सिटामोलको मौज्दात मात्रा कम हुनुमा‘माग बढी,आयात ज्यादै न्यून’भएको जवाफ दिएको बताउनुभयो । बिक्री भइरहने,म्याद सिद्धिएका औषधिलाइ बेग्लै भण्डारण गरी राख्नुपर्ने र जिल्ला अस्पतालले जिल्लाभरका अन्य स्वास्थ्य संस्थाहरुमा समेत औषधि पठाउनुपर्ने अवस्थाका कारण थप आपूर्ति नभए सिटामोलको अभाव कायम रहने अनुगमन समितिले औंल्याएको छ । फुङलिङ नगरपालिकाका स्वास्थ्य संयोजक मञ्जु गुरुङका अनुसार प्लेन पारा सिटामोलमा मेडाडोल,रेक्सामोल,निको,केल्बिन,निपोमोल,सिटोफेन लगायतका मुख्य औषधि पर्छन् ।‘ब्रुफ्रिनको कमिनेसनमा अरु औषधि समेत प्रयोगमा आउँछ’उनले भन्नुभयो ।

Similar Posts