ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं साधारणसभा ः कौशीखेति प्रवद्र्धनात्मक कार्यक्रम सुरु गरिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २२ । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बजारबासीलाइ लक्षित गरी बार्दली,कौसी तथा छाना खेती प्रवद्र्धन कार्यक्रम अघि बढाउने भएको छ । बिहीबार सम्पन्न संस्थाको २१ औं बार्षिक साधारणसभाले चालू आर्थिक बर्षका लागि बिभिन्न १८ बुदें मुख्य कार्यक्रम अघि सारेको हो ।
संस्थाका अध्यक्ष टामन सिग्देलद्धारा प्रस्तुत कार्यक्रम अनुसार चालू आवमा कम्तिमा ४० जनालाइ कौशी खेती सम्वन्धी तालिम प्रदान गरिने भएको छ । सहकारी खेती प्रणाली प्रवद्र्धन गर्न कम्तिमा ४ युवालाइ सहकारी खेती सम्वन्धी तामिल प्रदान गरिने भएको छ । कृषि उपज तथा रसायनिक मल खरिद बिक्री सम्वन्धी कार्यलाइ संस्थाले यथावत् रुपमा सञ्चालन गर्ने भएको छ । प्रकोपबाट बिपद्मा परेका सदस्य र दुर्घटनाबाट मृत्यु भएका सदस्यका आफन्तलाइ दिइने सहयोग रकमलाइ चालू आवमा निरन्तरता दिने संस्थाले जनाएको छ । संस्थाको कार्यक्षेत्रमा पर्ने अति दुर्गम स्थानमा रहेका स्वास्थ्य संस्था तथा नेपाल नेत्र ज्योति संघद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको सहकार्यमा आँखा परीक्षण तथथा उपचार शिविर सञ्चालन गर्ने ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थाले घोषणा गरेको छ । परिस्थिति सहज भएमा २५ जना उद्यम किसान सदस्यलाइ अन्तर जिल्ला अवलोकन भ्रमणमा पठाउने कार्यक्रम समेत सहकारी संस्थाले तय गरेको छ । सहकारी संस्थाले करिव साढे सत्ताइस सय जनालाइ १ दिने सहकारी शिक्षा सम्वन्धी र ४५ जनालाइ सीप विकास तालिम दिने सहकारीको योजना रहेको छ ।
जिल्ला प्रहरी कार्यालयसंग मिलेर करिव १ सयजना बिद्यार्थीलाइ लागु औषध दुव्र्यसन बिरुद्धको अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने सहकारीको योजना रहेको छ । साधारणसभाले संस्थाको विनियम,बचत तथा ऋण नीति र कर्मचारी सेवा निर्देशिकाका बिभिन्न प्रावधानहरु शंसोधन समेत गरेको छ । साधारणसभाले कर्मचारी निर्देशिका शंसोधन गरी पाचौं तहको प्रमुख व्यवस्थापक दरबन्दी सृजना गर्न सञ्चालक समितिलाइ अनुमति दिएको छ । संस्थामा अहिले चौथो तहको व्यवस्थापकले कार्यालय प्रमुखको भूमिका निर्वाह गरिरहेका छन् । सभाले स्वीकृति दिए अनुसार शेयर सदस्यले सवारी,लुगा तथा गहना खरिद गर्ने प्रयोजनका लागि ऐच्छिक रुपमा खाता खोली बचत जम्मा गर्न पाउने व्यवस्था समेत लागु गर्ने भएको छ ।
१ अर्ब ३४ करोड बराबरको कारोवार
कोषाध्यक्ष खड्गबहादुर मोक्तानका अनुसार आर्थिक बर्ष २०७७।०७८ मा संस्थाले १ अर्ब ३४ करोड बराबरको कारोवार गरेको छ । संस्थाले सो आवमा ३ करोड ६७ लाख ५१ हजार १ सय ६३ रुपैंया सञ्चालन आम्दानी तथा ३ करोड १ लाख ३ हजार २ सय ८ रुपैंया सञ्चालन खर्च गरी ६६ लाख ४७ हजार ९ सय ५५ रुपैंया सञ्चालन सञ्चालन बचत गरेको छ ।
लेखा समितिले दियो ६ बुदें सुझाव
संस्थाको लेखा समितिले बचत तथा ऋणको कारोवार बाहेक संस्थाको नियमानुसार अरु कारोवार गर्ने निर्णय कार्यान्वयन गर्न ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्थालाइ सुझाव दिएको छ । लेखा समिति संयोजक तारानाथ बरालद्धारा प्रस्तुत लेखा समितिको प्रतिबेदनमा खराव ऋणीको पहिचान गरी कानुनी परार्मशका आधारमा ऋण असुली प्रकृया आरम्भ गर्न,सहकारी शिक्षालाइ ग्रामीण तह केन्द्रित गर्न,आय आर्जन नहुने सम्पतिको खरिदका लागि संस्थागत पुँजी परिचालनलाइ न्यूनीकरण गर्न समेत सुझाइएको छ । यसअघि उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै प्रमुख अथिति फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेलले सहकारीका सिद्धान्तलाइ सहकारी संघसंस्थाहरुले अधिकतम् रुपमा प्रयोग गर्न सके शेयर सदस्यलाइ त्यहिँ अनुरुपको प्रतिफल प्राप्त हुने बिश्वास लिनुभयो । सहकारीका ७ सिद्धान्त झल्कने ७ रंगका दीप प्रज्वलन गरी उनले साधारणसभाको उद्घाटन गर्नु भएको थियो ।
ऐच्छिक तथा खुल्ला सदस्यता,सदस्यद्धारा लोकतान्त्रिक नियन्त्रण,सदस्यको आर्थिक सहभागिता,स्वायत्तता र स्वतन्त्रता,शिक्षा,तालिम र सूचना,सहकारीबीच पारस्परिक सहयोग र समुदायप्रति चासो गरी सहकारीका ७ वटा सिद्धान्त छन् । कार्यक्रममा ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे,जिल्ला सहकारी संघका उपाध्यक्ष चित्राकुमारी चंसु,जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष सन्तोष खतिवडा,जिल्ला सहकारी संघका सचिव गणेशकुमार श्रेष्ठ,कोषाध्यक्ष यिगेन्द्रकुमार गुरुङ,राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि नवीन भट्टराई,होटल व्यवसायी महासंघका जिल्ला अध्यक्ष दिनेश खवास,पत्रकार महासंघका जिल्ला अध्यक्ष आनन्द गौतम र पूर्व अध्यक्ष खगेन्द्र अधिकारी लगायतको उपस्थिति रहेको थियो । ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष खगेन्द्रकुमार कार्कीले उपस्थित सबैलाइ स्वागत गर्दै सहकारीका माध्यमबाट आयआर्जन बृद्धिमा सघाउ पुग्ने बताउनुभयो ।