|

ताप्लेजुङ समाज नेपालले पुस १० गते काठमाण्डौमा चासोक तङ्नाम पर्व मनाउने

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ६ । ताप्लेजुङ समाज नेपालले पुस १० गते काठमाण्डौ उपत्यकाको धुम्बाराही स्थित एसआर पार्टी प्यालेसमा चासोक तङ्नाम पर्व मनाउने भएको छ ।

पेशा व्यवसायको सिलसिलामा काठमाण्डौ उपत्यका पुगेका ताप्लेजुङका नागरिकबीच भातृत्व र एकता कायम गर्दै साँस्कृतिक प्रवद्र्धनका लागि यो पर्व मनाउन लागिएको समाजले जनाएको छ । समाजका कार्यवाहक अध्यक्ष रमेश बरालद्धारा जारी प्रेश विज्ञप्ती अनुसार उपत्यकामा बसोबास गर्ने ताप्लेजुङबासीबीच आपसी समन्वय,समझदारी र हार्दिकताको विकास गर्दै जिल्लाबासीको एकतालाइ बलियो बनाउन यो पर्व सामुहिक रुपमा मनाउन लागिएको हो । किराँत लिम्बू समुदायको मौलिक चाड चासोक तङ्नामलाइ काठमाण्डौ उपत्यकामा अझ ब्यापक बनाउन,किराँत लिम्बू समुदायको धर्म संस्कृति,भाषा,भेषभुषा तथा रितिरिवाजलाइ संरक्षण तथा प्रवद्र्धन गर्न,बिद्यमान धर्म संस्कृतिको जर्गेना गर्दै सामाजिक सद्भावको अभिबृद्धि गर्न र परम्परागत धर्म संस्कृति तथा रितिरिवाज बारे नयाँ पुस्तालाइ समेत अभिप्रेरित गर्न पर्व मनाउन लागिएको समाजले जनाएको छ । पर्वका अवसरमा लिम्बू समुदायको धर्म,संस्कृति तथा रितिरिवाज र बिभिन्न समुदायको परम्परागत भेषभूषा र पहिरनका बारेमा अध्ययन÷अवलोकन गर्न पाइने भएको छ । यस्तै परम्परागत साँस्कृतिक झाँकी,धाननाच,बिजुवा नाँच,च्याब्रुङ नाच,स्या¥बो नाच,तामाङ सेलो,साकेला नृत्य र बालन तथा संगिनी नाचको समेत प्रर्दशनी गरिने ताप्लेजुङ समाजले विज्ञप्तीमार्फत जनाएको छ ।

पर्वमा फुड फेस्टिवलमार्फत परम्परागत खानाका परिकारको स्वाद चाख्न पाइने आयोजकले जनाएको छ । यस्तै हस्तकलाका सामग्री अन्र्तगत ढाका कपडा,राडी,पाखी,गलैंचा,छूर्पी र अलैंची जस्ता घरमा कोशेली लान मिल्ने सामग्रीको स्टल समेत राखिने ताप्लेजुङ समाजले जनाएको छ । पर्वमा पाथीभरा देवी दर्शन केवलकार प्रालिको मुख्य प्रायोजन तथा गोर्खा ब्रुअरी प्रालि काठमाण्डौको सह प्रायोजन रहने विज्ञप्तीमा उल्लेख गरिएको छ । चासोक तङ्नाम (न्वागी) पूजा उधौली याममा बालीनाली भित्र्याउने बेलामा सम्पन्न गरिन्छ । चासोक तङ्नामलाई न्वागी पर्व पनि भनिन्छ । चासोक भन्नाले उब्जाइएको फलाईएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङनाम भनेको पर्व(चाड)हो ।‘चासोक’को शाब्दिक अर्थ न्वागी र ‘तङ्नाम’को अर्थ चाडपर्व रहेको किरात याक्थुङ चुम्लुङले जनाएको छ । लिम्बूहरूले चासोकको दिन भेला भएर आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन रहेको छ ।
फायल फोटो ः ताप्लेजुङमा दुईबर्ष अघिको चासोक तङ्नामका अवसरमा सदरमुकाम फुङ्लिङमा निकालिएको ¥याली ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts