| |

‘एमालेको ध्यान आगामी निर्वाचनमा केन्द्रित’

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस ३ ।
नेकपा एमालेका नवनिर्वाचित सचिव एवम् ताप्लेजुङका प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टराईले पार्टीको ध्यान आगामी निर्वाचनतर्फ केन्द्रित भएको बताउनुभयो । आगामी निर्वाचनको समय नजिकिँदै गएकाले पार्टीको महाधिवेशन सम्पन्न भएसँगै यसतर्फ सम्पूर्ण ध्यान केन्द्रित गरेको भट्टराई बताउनुभयो ।
गृह जिल्लाको सदरमुकाम फुङ्लिङमा शुक्रबार पत्रकारसँग भेटघाट गर्नुहुँदै नेता भट्टराईले स्थानीय तह, प्रदेश र संघ तीनवटैमा बहुमत ल्याएर एमालेले नेतृत्व गर्ने योजनाका साथ पार्टी निर्वाचन लक्षित कार्यक्रममा केन्द्रित भएको बताउनुभयो । पार्टीको १० औं महाधिवेशनको सहभागिताले एमालेमा जनाधार कायम रहेको पुष्टि गरेको बताउँदै उहाँले आगामी निर्वाचनमा तीनवटै तहमा स्पष्ट बहुमत ल्याउने पनि दावी गर्नुभयो ।
पूर्वमन्त्रीसमेत रहनुभएका भट्टराईले अहिले देखिकै निर्वाचन केन्द्रित योजनाले पार्टीलाई लक्ष्यअनुसारको सफलता मिल्ने बताउनुभयो । निर्वाचनमा सफलता सँग–सँगै पार्टी थप बलियो भएर जाने उहाँले बताउनुभयो । सन् २०२१ एमालेका लागि सकसको समय भएको बताउँदै उहाँले सन् २०२२ सफलता र उपलब्धिको समय हुने पनि बताउनुभयो । चितवनमा सम्पन्न महाधिवेशनमार्फत पार्टी थप बलियो भएको तर्क गर्नुहुँदै उहाँले अब समादवादको नयाँ कार्यदिशासहित एमालेको पुनर्दय हुने बताउनुभयो ।
उहाँले प्रगतिशील वामपन्थी शक्तिहरुबीच एकता अनिवार्य रहेकाले सबै कम्युनिस्ट एमालेमा एकीकरण हुनुपर्ने पनि बताउनुभयो । वामपन्थी र उद्दार प्रजातन्त्र दुईवटा मात्र शक्ति नेपालमा अस्तित्वमा रहने भएकाले अब कम्युनिस्ट नामका पार्टीहरु एमालेमा एकता भई शक्तिशाली कम्युनिस्ट पार्टीका रुपमा एमाले बनाउनुपर्ने उहाँले बताउनुभयो ।
यता भर्खरै सम्पन्न नेपाली काँग्रेसको महाधिवेशनको नतिजा आउने क्रमसँगै नयाँ पुस्ता र युवा पंक्ती नेतृत्वमा आएको प्रसंग कोट्याउँदै उहाँले एमालेमा पनि चाँडै नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको क्रम शुरु हुने बताउनुभयो । समय, परिवेश र आवश्यकताले नेतृत्व पुस्तान्तरण अनिवार्य हुने पनि उहाँको भनाइ थियो ।
अर्को प्रसंगमा नेता भट्टराईले एमालेले संसद अवरुद्ध गरेको नभई असहमति मात्र राख्दै आएको बताउनुभयो । पार्टीको मागलाई सभामुख अग्निप्रसाद सापकोटाले तार्किक निस्कर्षसहित जवाफ नदिएसम्म आफ्नो माग राखीरहने पनि उहाँले बताउनुभयो । उहाँले सभामुखले संसदमा निकास दिनुको सट्टा उल्टै एमालेलाई धम्क्याएको पनि आरोप लगाउनुभयो ।
सभामुखले पक्षपातपूर्ण व्यबहार गर्नुभएकोले त्यसको आफूहरुले असहमति राख्दै आएको उहाँले बताउनुभयो । कुनै दल निर्देशित व्यवहारलाई सच्याई साझा काम गरेर सभामुखले निकास दिनुपर्ने उहाँको तर्क थियो । उहाँले संसद अवरुद्ध गर्ने एमालेको चाहाना नभएको पनि प्रस्ट्याउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts