|

राजनीति भन्दा बढी अध्यापनमा समय खर्चिन शिक्षकलाइ पूर्वमन्त्री एवम् सांसद भट्टराईको सुझाव

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ३ । पूर्व मन्त्री एवम् प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराईले शिक्षकले राजनीतिलाइ कम र अध्यापनलाइ बढी समय दिनुपर्ने बताउनु भएको छ । बहुदलिय प्रतिश्पर्धा भित्र शिक्षक पनि कुनै न कुनै राजनीतिक आस्थामा अडिएको भएपनि आफ्नो प्रमुख जिम्मेवारीबाट शिक्षक भाग्न नहुने भट्टराईले बताउनुभयो । काठमाण्डौमा रहेको दौंतरी नेपालमार्फत ताप्लेजुङका ४ बिद्यालयका १ सय जना बिद्यार्थीलाइ छात्रबृत्ति बितरण गर्दै भट्टराईले भन्नुभयो‘अहिले कुनै व्यवस्था परिवर्तनको लागि लड्ने नभएर विकास र समृद्धिको अभियान मात्र भएकोले शिक्षकहरुले अध्ययन÷अध्यापनमै बढी समय दिनुपर्छ’ । स्थानीय तह सहितका जनप्रतिनिधि आफ्नै माझमा भएको अवस्थामा सक्रिय राजनीतिक अभियानमा शिक्षकहरु सामेल हुन नपर्ने भट्टराईको भनाइ थियो ।

भट्टराईले स्थानीय तहका जनप्रतिनिधिहरुलाइ शिक्षा र स्वास्थ्यमा लगानी बढाउन समेत आग्रह गर्नु भएको छ । उहाँले ताप्लेजुङमा शैक्षिक क्रान्तिको आवश्यकता रहेको औंल्याउनुभयो । ह्युमन प्राक्टिस फाउण्डेसन(एचपीएफ)मार्फत ताप्लेजुङका बिद्यालयहरुमा भइरहेको पूर्वाधार विकास र अन्य शैक्षिक गतिविधिको खुलेर प्रशंसा गर्नुभयो । ग्रामीण तथा वातावरणीय विकास केन्द्र(रिड) नेपाल सहितका संस्थाहरुमार्फत ताप्लेजुङमा शैक्षिक क्षेत्रमा भइरहेको लगानी र मेहनेतले ताप्लेजुङको शैक्षिक मुहारमा परिवर्तन ल्याउने उहाँको भनाइ थियो । मेरिङ्देन गाउँपालिका वडा नं २ का वडाध्यक्ष केदारजंग लिम्बूले अधिकाँस बिद्यालयका शिक्षकहरु नेता हुने र आफ्ना छोराछोरी भने संस्थागत बिद्यालयमा लगेर पढाउने परिपाटी अन्त्यका लागि कानुन बनाउन सांसद भट्टराईको ध्यानाकर्षण गराउनु भएको थियो । शिक्षकले आफु अध्यापनरत बिद्यालयमै नपढाउने हो भने त्यो बिद्यालयप्रति शिक्षकको अपनत्व कम हुने र गुणस्तरीय शिक्षातिर उसको ध्यान नजाने भन्दै वडाध्यक्ष लिम्बूले आफु अध्ययन गरेकै बिद्यालयमा आफ्ना छोराछोरी नपढाए त्यस्ता शिक्षकलाइ अनिवार्य सरुवा लैजानुपर्ने कानुन बनाउन माग समेत गर्नु भएको छ ।

ताप्लेजुङको शैक्षिक क्षेत्रमा आमूल परिवर्तनका लागि योगदान पु¥याउन आफुले बिभिन्न दातृ निकायसंग परियोजना प्रस्ताव समेत पठाएको र सकारात्मक सन्देशका संकेतहरु आइरहेको उहाँले जानकारी दिनुभयो । दौंतरी नेपालको सहयोगमा ताप्लेजुङ विकास मञ्चले यहाँका ४ बिद्यालयका १ सय जना जेहेन्दार बिद्यार्थीलाइ शैक्षिक सामग्री प्रदान गरेको छ । मञ्चका अध्यक्ष सन्तोष प्रसाँइका अनुसार मेरिङ्देन गाउँपालिकाका सूर्यदेवी मावि र सिद्धकाली आधारभूत बिद्यालय,पाथीभरा याङ्वरक गाउँपालिकाको सिद्धेश्वरी मावि र सिरिजंगा गाउँपालिकाको भगवती आधारभूत बिद्यालयका सयजना बिद्यार्थीलाइ पोशाक सहितको शैक्षिक सामग्री बितरण गरिएको छ ।‘अघिल्लो बर्ष बिद्यालय पोशाक दिइएको थियो,प्रसाँइले भन्नुभयो‘यसबर्ष पोशाकको ठाउँमा न्यानो कपडा र अन्य शैक्षिक सामग्री दिएका हौं’ । उहाँका अनुसार उल्लेखित ४ बिद्यालयका २५–२५ जना बिद्यार्थीले शैक्षिक सामग्री पाउने छन् । प्रत्येक बिद्यार्थीले ज्याकेट वा बिद्यालय पोशाक,बर्षभरी पुग्ने कापी र डटपेन,झोला र जुत्ता सहितका शैक्षिक सामग्री पाउने ताप्लेजुङ विकास मञ्चल जनाएको छ । अति गरिव,जेहेन्दार र पछाडि पारिएको वर्गका बिद्यार्थी छनौट गरिएको सूर्यदेवी माविका शिक्षक भीमप्रसाद केदेमले बताउनुभयो । सिद्धेश्वरी मावि डुम्रिसेका शिक्षक टीका न्यौपानेले अति विपन्न र जेहेन्दार बिद्यार्थीलाइ दिइएको यस्तो सहयोग प्रभावकारी भएको भन्दै सक्ने भए सहयोग बढाउन प्रस्ताव गर्नुभयो ।

दौंतरी नेपालका अध्यक्ष सम्पन्न स्थापितका अनुसार संस्थाले देशभरका ८ सय जना जेहेन्दार बिद्यार्थीलाइ बार्षिक रुपमा यस्तो शैक्षिक सहयोग गर्दै आइरहेको छ । ताप्लेजुङमा यस्तो बितरण कार्य २०७६ सालबाट सुरु भएको र २०७७ सालमा कोरोनाका कारण सहयोग गर्न नसकेको भएपनि २०७८ सालबाट यसलााइ निरन्तरता दिइएको उहाँले बताउनुभयो । उहाँले गरिव र जेहेन्दार बिद्यार्थीको निरन्तर सिकाइ र पढाइप्रतिको लगावको सम्ममानका लागि आफुहरुले यस्तो सहयोग गर्न थालेको जानकारी दिनुभयो । कार्यक्रममा प्रदेश सांसद होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,दौंतरी नेपालका उपाध्यक्ष दीपेन्द्र मानन्धर,कोषाध्यक्ष उत्तरा मानन्धर सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts