१० दिने मतदाता नामावली संकलन बिशेष कार्यक्रममा ताप्लेजुङमा साढे एघारसयले नामदर्ता गराए

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २७ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले मंसिर १७ गतेबाट सुरु गरेको पहिलोचरणको मतदाता नामावली संकलन कार्यको १० दिने अवधिमा १ हजार १ सय ५१ जनाले नाम दर्ता गरेका छन् । ति मध्ये १ जनाले बाह्य जिल्ला नामावली दर्ता गरेको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बान्दवराज(बिपिन) दुलालले जानकारी दिनुभयो । यो अवधिमा सबैभन्दा बढी मैवाखोला गाउँपालिकामा ४ सय जनाले नामदर्ता गराएका छन् । त्यसपछि सिदिङ्वा गाउँपालिकामा ३ सय २० जना,जिल्ला प्रशासन कार्यालयमा १ सय ६८ जना,फक्ताङ्लुङ गाउँपालिकामा १ सय ३ जना,मिक्वाखोलामा ९३ जना र जिल्ला निर्वाचन कार्यालयमा ६६ जनाले नामदर्ता गराएको समेत दुलालले जानकारी दिनुभयो । निर्वाचन कार्यालयले मंसिर २९ गतेबाट पुस ९ गते सम्म दोस्रो चरणमा पाथीभरा याङ्वरक गाउँपालिका,सिरिजंगा गाउँपालिका,आठराइ त्रिबेणी गाउँपालिका र मेरिङ्देन गाउँपालिकामा मतदाता नामावली संकलन गर्दैछ । पहिलो चरणमा मैवाखोला गाउँपालिका,मिक्वाखोला गाउँपालिका,फक्ताङ्लुङ गाउँपालिका र सिदिङ्वा गाउँपालिकाको केन्द्रमार्फत मतदाता नामावली संकलन भएको थियो । जिल्ला निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट नियमित रुपमै मतदाता नामावली संकलन भइरहेकोले फुङ्लिङ नगरपालिकामा भने मतदाता नामावली संकलन बिशेष कार्यक्रम सञ्चालन गर्न नपरेको जिल्ला निर्वाचन अधिकारी शकुन्तला राइले जानकारी दिनुभयो । ताप्लेजुङमा गत कात्तिक मसान्त सम्म ८६ हजार ९३ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।