ताप्लेजुङमा दुई चरणमा मतदाता नामावली संकलन गरिदैं,छुट भएकालाइ पालिकाको केन्द्रमार्फत नाम दर्ता गराउन आग्रह
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर १५ । जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले नाम दर्ता गराउन छुट भएका सबै नागरिकहरुलाइ मंसिर १७ गतेबाट हुने मतदाता नामावली संकलन बिशेष कार्यक्रममा सहभागिता जनाइ नाम दर्ता गराउन आग्रह गरेको छ । बुधवार सरोकारसंगको अन्र्तक्रिया कार्यक्रममार्फत जिल्ला निर्वाचन कार्यालयले यस्तो बताएको हो ।‘नागरिकता प्राप्त भएका तर मतदाता नामावलीमा नाम दर्ता नभएका सबै नागरिकले तोकिएको केन्द्रमा गइ नाम दर्ता गराउन आवश्यक छ’जिल्ला स्तरीय निर्वाचन कार्यक्रम व्यवथापन तथा अनुगमन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले भन्नुभयो । उहाँले मतदाता नामावली संकलनका लागि पालिकाका केन्द्र सम्म नाम संकलन तथा दर्ता टोली पुग्ने भएकोले यो अवसरको सदुपयोग गर्न सरोकारवाला सबैलाइ आग्रह पनि गर्नु भएको छ । जिल्ला निर्वाचन अधिकारी शकुन्तला राईका अनुसार ताप्लेजुङको फुङ्लिङ नगपालिका बाहेक अरु सबै स्थानीय तहमा दुईचरणमा गरी नाम दर्ता अभियान सञ्चालन गरिने छ । उहाँका अनुसार पहिलो चरणमा मंसिर १७ गते देखि २६ गते मैवाखोला गाउँपालिकाको केन्द्र साँघुपाटी,मिक्वाखोला गाउँपालिकाको केन्द्र(थलङ),साँवा,फक्ताङ्लुङ गाउँपालिकाको केन्द्र तापेथोक र सिदिङ्वा गाउँपालिकाको केन्द्र साब्लाखु भञ्ज्याङमा मतदाता नामावली दर्ता कार्य हुने छ । यस्तै दोस्रो चरणमा मंसिर २९ गते देखि पुस ९ गते सम्म पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बु,सिरिजंगा गाउँपालिकाको केन्द्र तेल्लोक,आठराइ त्रिबेणी गाउँपालिकाको केन्द्र हाङ्पाङ र मेरिङ्देन गाउँपालिकाको केन्द्र(सुलुम्फी)सान्थाक्रामा मतदाता नामावली संकलन कार्य हुने भएको छ । निर्वाचन आयोगले तयार पारेको कार्यतालिका अनुसार हिमाली र पहाडी जिल्लाका प्रत्येक पालिका केन्द्रमा १० दिन सम्म मतदाता नामावली संकलन कार्य हुुने छ ।‘आयोगले तयार पारेको कार्यक्रम भित्र रहेर कार्यतालिका तयार भएकोले मतादाता नामावली संकलन कार्यका लागि अहिले पालिका केन्द्र बाहेक वडा वा टोल स्तरमा जान सकिने अवस्था छैन’जिल्ला निर्वाचन अधिकारी राईले भन्नुभयो । राजनीतिक दलले भौगोलिक बिकटताका कारण पालिकाको केन्द्र सम्म पुगेर मतदाता नामावलीमा नाम दर्ता गर्न कठिनाइ हुने भएकोले शारिरिक रुपमा अशक्त,बिरामी र दुर्गम क्षेत्रका लागि बिशेष व्यवस्था गर्न माग गरेका थिए । तर जिल्ला निर्वाचन कार्यालयले अहिलेको अवस्थामा पालिकाको केन्द्र बाहेक अन्य स्थानमा पुगेर मतदाता नामावली संकलन कार्य गर्न नसकिने प्रष्ट्याएको छ । जिल्ला निर्वाचन कार्यालय समेत यहिँ रहेको र जिल्ला प्रशासन कार्यालयबाट पनि मतदाता नामावली संकलन कार्य भइरहेकोले तिनै दुईवटा निकायलाइ फुङ्लिङ नगरपालिकाको मतदाता नामावली संकलन केन्द्रको रुपमा राख्ने आयोगको निर्णय बमोजिम फुङ्लिङ नगरपालिका बाहेक अन्य ८ वटा गाउँपालिकामा बिशेष अभियान सञ्चालन गर्न लागेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी बिपिन दुलालका अनुसार बाह्य जिल्लाबाट नागरिकता जारी भएका व्यक्तिहरुको दर्ता भने जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुने छ । यस्तै मतदाता नामावली दर्ता बाहेक नामथर,वतन,ठेगाना,बाबु÷आमाको नाम,मतदान केन्द्र परिवर्तन लगायतको कार्य अर्थात् अद्यावधिक पनि जिल्ला निर्वाचन कार्यालयबाट मात्र हुने समेत उहाँले बताउनुभयो ।‘अहिलेको बिशेष अभियान भनेको बिल्कुल नयाँ नाम दर्ताको कार्य मात्र हो’दुलालले भन्नुभयो‘अद्यावधिक सहितका कार्य जिल्ला निर्वाचन कार्यालयबाट नियमित रुपमै भइरहेको हुन्छ’ । निर्वाचन कार्यालयका अनुसार २०७६ साल पुस २० गतेबाट ताप्लेजुङ प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन कार्य बन्द भएकोमा २०७८ साल भदौ ५ गतेबाट फेरी सुरु भएको छ । कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले पालिकाको केन्द्र सम्म पुगेको नाम दर्ता कार्यलाइ अवसरको रुपमा लिएर सक्रिय सहभागिता जनाउन आग्रह गर्नु भएको छ । उहाँले सबै राजनीतिक दल र पालिकाका जनप्रतिनिधिहरुले नाम दर्ता गराउन छुट भएका पालिकाभरीका नागरिकलाइ नाम दर्ता गराउने कार्यमा सहभागी गराइदिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा,मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू,फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा) लगायतले मतदाता नामावली संकलन कार्यका लागि जिल्ला निर्वाचन कार्यालयले तयार पारेको अवधिभित्र नाम दर्ता गराउन छुट भएका योग्य नागरिकलाइ नाम दर्ता गराउने अभियानमा उत्प्रेरित गर्न लागि पर्ने बताउनुभयो । उपस्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले नाम दर्ता प्रकृयामा पार्टीकोतर्फबाट सक्दो सहयोग गर्ने र छुट भएका योग्य नागरिकलाइ नाम दर्ता हुनका लागि आ–आफ्नो पार्टी संयन्त्र परिचालित गर्ने प्रतिबद्धता जनाउनु भएको छ । कार्यक्रममा कार्यालय प्रमुखहरु,सञ्चारकर्मी,नागरिक समाजका अगुवा समेतको उपस्थिति रहेको थियो ।