|

सिरिजंगाका सेवाग्राहीले सार्वजनिक सुनुवाइमा भने‘ रचनात्मक कार्य गर्ने पालिकाको नेतृत्वप्रति सलाम छ’

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ८ । ताप्लेजुङको सिरिजंगा गाउँपालिका वडा नं १ सिनामका डिल्ली अधिकारीलाइ २०७८ साल कात्तिक ३० गतेको दिन जतिको खुसी कमै दिन मात्र भएको छ । पढाइमा अब्बल भएर पनि चिकित्सा शिक्षा अध्ययन गर्ने धोकोमा आर्थिक अभावले बार लगाउनै आँटेको बेला भतिज अतित अधिकारीलाइ सिरिजंगा गाउँपालिकाले डाक्टर पढाइ सक्नेगरी छात्रबृत्ति दियो । चितवन मेडिकल कजेलमा नाम निकालेर पनि आर्थिक अभावले पढाइ अघि बढाउन नसकेका अतितलाइ ३० गतेका दिन पालिकाले छात्रबृत्तिको पहिलो किस्ता बापत करिव १४ लाख ७८ हजार ६ सय ७५ रुपैंया निकासा गरिदियो ।‘आफुले रोजेको बिषय पढ्न नपाएर हैरानमा परिसकेको भतिजो अब एक अब्बल डाक्टर भएर निस्कने भयो’पालिकाले सिनाममा आयोजना गरेको सार्वजनिक सुनुवाइमा अधिकारीले भन्नुभयो‘सायद यो खुुसी सबै सिरिजंगाबासीको खुसी झैं भएको छ’ ।‘पालिकाको यो गुन कहिले तिर्न सकौंला’अधिकारीले दोहो¥याउनुभयो‘वास्तवमा यस्ता रचनात्मक कार्य गर्ने पालिकाको अहिलेको नेतृत्वप्रति सलाम छ’ । पालिकाले आफुले प्रवाह गरेको बस्तुतथा सेवाको बितरण बारे सेवाग्राहीहरुको राय,सुझाव र प्रतिक्रिया लिन आयोजना गरेको सार्वजनिक सुनुवाइमा पालिकाप्रति जिज्ञासा राख्न भनियो ।‘जिज्ञासा होइन तर मेरो केहि भन्नु छ’ सिनाम माविमा प्रधानाध्यापक महेन्द्रप्रकाश गौतमले भन्नुभयो‘अहिले सम्मको कामका लागि धन्यवाद,अरु रचनात्मक काम गर्दै गए अंकका हिसावले सिरिजंगालाइ सयमा सय दिइन्छ’ । उहाँले सिरिजंगा गाउँपालिका देशका ७ सय ५३ स्थानीय तहमध्ये प्रभावकारी कामका हिसावले देशकै अब्बल रहेको दावी गर्नुभयो ।‘अघि पाथीभरा याङ्वरक गाउँपालिकाका वडाध्यक्ष ज्युले ताप्लेजुङका स्थानीय तहमध्ये सिरिजंगाको काम निकै प्रभावकारी छ भन्नुभयो,म त भन्छु जिल्लाभरीमा मात्र सिरिजंगा राम्रो होइन,सायद देशैभरीमा हो’गौतमले भन्नुभयो । यसअघि आफ्ना कुरा राख्नुु भएका पाथीभरा याङ्वरक गाउँपालिका वडा नं ६ थुम्बेदिनका वडाध्यक्ष दुर्गा थेबेले सिरिजंगा गाउँपालिकाले नीति तथा कार्यक्रममार्फत अघि चालेका प्रयास र कार्य अन्यन्तै सकारात्मक र उल्लेख्य नतिजा दिने खालको भएको भन्दै प्रशंसा गर्नु भएको थियो । स्थानीय पूर्णबहादुर कार्कीले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीमा जाँदाको समस्या समाधानको बिकल्प दिन आग्रह गर्नुभयो । पालिकाको केन्द्र तेल्लोकमा रहेको नेपाल बैंकमार्फत सामाजिक सुरक्षा भत्ता निकाल्न गाह्रो भएको भन्दै उहाँले सिनाममा रहेको बित्तीय संस्थामार्फत सासुभत्ता निकाल्न पाउने प्रवन्ध गर्न पालिकासंग अनुरोध गर्नुभयो । यो बाहेक प्रश्न गर्नेहरु भेटिएनन् । जतिले कुरा राख्न थाले,अधिकाँसले अहिले सम्मको पालिकाको कामप्रति सन्तुष्टी प्रकट गर्दै अब पनि यस्ता कामलाइ निरन्तरता दिन आग्रह गर्नुभयो । सार्वजनिक सुुनुवाइका सहजकर्ताका मध्येका एक पत्रकार सन्तोष पुर्कुटीका अनुसार सहजकर्ताकाहरुकोतर्फबाट पालिकाको सेवा प्रवाह बारे पालिकाका प्रत्येक वडामा पुगेर ३५ जना सेवाग्राही नागरिकसंग भिडियो अभिमत लिइएको थियो ।‘सत प्रतिशत अभिमतनै पालिकाको काम प्रति सन्तुष्ट भएको नतिजाको रुपमा आयो’उहाँले भन्नुभयो । अभिमत संकलनको क्रममा केहिले तेल्लोक माविमा आनिपान भाषा शिक्षकको मासिक तलवको प्रवन्ध गर्नुपर्ने बिषय उठाउनु भएको थियो । अभिमत संकलनको क्रममा उठेका जिज्ञासाको जवाफ दिदैं प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले २०७८ साल कात्तिक ३० गते बसेको कार्यपालिकाको बैठकले लिम्बू भाषा र लिपिलाइ संस्थागत गर्न स्थानीय कानुन एवम् कार्यविधिको मस्यौदा तयार गरी पेश गर्नेगरी कार्यपालिका प्रशासनलाइ निर्देशन दिएकोले अब स्थानीय भाषा र लिपिलाइ संस्थागत गर्न कानुन र कार्यविधि नै बन्न लागेकोले यस्ता प्रश्न नआउने बिश्वास दिलाउनुभयो । पालिका अध्यक्ष टीकाराम गुरुङले आफुहरुले अहिले सम्म भरसक सेवाक्षेत्रका जनताको प्रगति,उन्नती र समृद्धिका लागि कार्यगर्नेगरी योजना बनाएको र त्यहिँ योजना कार्यान्वयमा रहेको बताउनुभयो । जनप्रतिनिधि भएको हिसावले आफु पार्टी,जाति र क्षेत्रीयता भन्दा माथि उठेर काम गर्ने उहाँको बचन थियो । कार्यक्रममा उपाध्यक्ष ज्ञानमाया चौहानले न्यायिक समितिको कार्य सम्पादनको अवस्था,पालिकाभरीका योजनाको अनुगमन र त्यसको प्रभावकारिताका बिषयमा प्रष्ट्याउनु भयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा पालिका अध्यक्ष,उपाध्यक्ष,प्रमुख प्रशासकीय अधिकृत,पालिकाभरीका वडाका वडाध्यक्ष तथा कार्यपालिका सदस्य,गाउँसभा सदस्य र पालिकाका बिषयगत शाखाका प्रमुखहरु जवाफदेहि पक्षको रुपमा रहनु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts