मुटु रोगी बुद्ध मावोको उपचारका लागि सिरिजंगा गाउँपालिकाले ५० हजार रकम दिने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ५ । ताप्लेजुङको सिरिजंगा गाउँपालिकाले पालिकाको केन्द्र तेल्लोकस्थित तेल्लोक माध्यमिक बिद्यालयका शिक्षक बुद्ध मावोको उपचारका लागि ५० हजार रुपैंया सहयोग गर्ने भएको छ । मुटु सम्वन्धी रोग लागि उपचारका लागि अस्पताल भर्ना भएका मावोलाइ नागरिक उपचार सहयाता कोषबाट सो रकम उपलब्ध गराउने गरी कार्यपालिकाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेले जानकारी दिनुभयो । गाउँपालिकाले पालिका क्षेत्र भित्रका नागरिक उपचार रकमको अभावमा जीवन जोखिममा रहेको भए बचाउने अभियान स्वरुप रकम उपलब्ध गराउने गरी नागरिक सहायता कोष बनाएको छ । रकम बितरणको मापदण्ड पालिकाले कार्यविधिकमार्फत व्यवस्था गरेको छ । सोहि कार्यविधिका आधारमा मावोलाइ नागरिक सहयाता कोषमार्फत रकम दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । सिरिजंगा गाउँपालिका वडा नं ६ मामाङ्खे निवासी मावो लामो समय देखि मुटु सम्वन्धी मुटु सम्वन्धी समस्याका कारण अहिले संघीय राजधानी काठमाण्डौका बिभिन्न अस्पतालमा उपचार गराइरहनु भएको छ । आर्थिक अभावले मावोको उपचारमा समस्या भएपछि स्थानीयले मिलेर बुद्ध मावो बचाउ अभियानमार्फत उपचारका लागि रकम संकलन समेत गरिरहेका छन् । अभियानका अगुवा डिल्लीराज मावोका अनुसार सहयोग गर्न चाहनेले सानिमा बैंकको बिदुर ब्रान्चमा रहेको डिल्लीराज मावोको खाता नम्बर ०४१०११०६०००४०९३ मा रकम जम्मा गर्न सक्नुहुने छ । सहयोग गर्न चाहनेले बुद्ध मावोकी श्रीमति कल्पना थक्लुङ लिम्बूको मोवाइल नम्बर ९८६३१६८५७३ मा समेत सम्पर्क गर्न सकिने बुद्ध मावो बचाउ अभियानका अगुवा डिल्लीराजले जानकारी दिनुभयो ।