| | |

एमाले महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नतिजाः संस्थापन पक्ष हावी

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, मङ्सिर २ ।
नेकपा (एमाले) ताप्लेजुङमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटका लागि भएको निर्वाचनमा संस्थापन पक्ष हावी देखिएका छन् । मतगणनाको प्रारम्भिक नतिजाअनुसार संस्थापन पक्षका उम्मेदवारहरु तेब्बर बढी मतसहित अघि देखिएका हुन् ।
बिहीबार बिहानदेखि मतगणना शुरु भएको र दिउँसो ४ बजे सम्ममा सिरिजङ्घा गाउँपालिकाको गणना सम्पन्न हुँदा संस्थापन पक्षका भूपेन्द्र थेबेले सबैभन्दा बढी ७४० मत पाउनुभएको छ । थेबे यसअघि तत्कालीन नेकपामा विवाद हुँदा केपी ओली समूहको समानान्तर जिल्ला कमिटीको अध्यक्ष हुनुहुन्थ्यो ।
यस्तै दोस्रो मत सिंहबहादुर इवारमले ७३५, तेस्रो छत्रपति प्याकुरेल ६६५, चौंथो ओङ्दी शेर्पाले ६३४ मत प्राप्त गर्नुभएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले २३० मत मात्र पाउनुभएको छ । साम्सोहाङ तत्कालीन एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा हुनुहुन्थ्यो ।
नेपालले नयाँ दल नेकपा (एकीकृत समाजवादी) दर्ता गरेपछि साम्सोहाङ एमालेमै रहनुभएको हो । प्रारम्भिक नतिजाअनुसार साम्सोहाङसहित तत्कालीन वरिष्ठ नेता नेपाल पक्षका सबै उम्मेदवारको पक्षमा धेरै न्युन मत खसेको छ । निर्वाचन समितिका संयोजक बलराम भट्टराईका अनुसार सिरिजङ्घा गाउँपालिकामा ७७९ मत खसेको थियो ।
एक नगरपालिकासहित नौ स्थानीय तह रहेको जिल्लामा सिरिजङ्घाबाहेक आठवटा स्थानीय तहको नतिजा आउन बाँकी रहेको निर्वाचन संयोजक भट्टराईले बताउनुभयो । उहाँका अनुसार सिरिजङ्घापछि पाथीभरा याङ्वरक गाउँपालिकाको मतगणना जारी रहेको छ । आउँदो मङ्सिर १० देखि १३ गतेसम्म चितवनमा हुने एमाले राष्ट्रिय महाधिवेशन प्रतिनिधिका लागि आकांक्षी बढी भएपछि निर्वाचन भएको हो ।
निर्वाचन समितिका अनुसार महाधिवेशन प्रतिनिधि खुल्लातर्फ आठजनाको ठाउँमा १६ जना, चारजना महिलाका लागि पाँच र एकजना दलित प्रतिनिधिका लागि दुईजनाले चुनावी प्रतिस्पर्धामा भाग लिनुभएको छ । महाधिवेशन प्रतिनिधि छनोटको निर्वाचनमा जिल्लाभरबाट छ हजार हाराहारी पार्टी सदस्यले भाग लिएका र पुरै नतिजा आउनलाई शुक्रबार दिनभर लाग्नसक्ने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts