मिल्यो एमाले ताप्लेजुङको बिबाद,पुस २४ र २५ गते जिल्ला अधिबेशन गरिने,८ सदस्यीय सचिवालय गठन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक २२ । दुई कमिटी र दुईवटै पार्टी कार्यालय रहेको नेकपा एमाले ताप्लेजुङको आन्तरिक बिबाद समाधान भएको छ । दुईवटै कमिटीको सोमवार सम्पन्न संयुक्त बैठकले ४ सय २ सदस्यीय दुईवटै कमिटीलाइ जिल्ला अधिबेशन आयोजक कमिटीमा रुपान्तरण गरी आउँदो पुस २४ र २५ गते ११ औं जिल्ला अधिबेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने निर्णयमा पुगेको एमाले केन्द्रीय सदस्य तथा ताप्लेजुङ इञ्चार्ज तिलकुमार मेन्याङ्वोले जानकारी दिनुभयो । बैठकले एमाले ताप्लेजुङ संयोजक बलबहादुर साम्सोहाङ र सहसंयोजक भूपेन्द्र थेबे सहित मात्रिकाप्रसाद भट्टराई,राधाकृष्ण पौडेल,केशर मेन्याङ्वो,दीपेन पोमू,मंगलसिंह केदेम र नेत्र न्यौपाने(नरेश) रहेको ८ सदस्यीय पार्टी सचिवालय गठन गरेको छ । यो सचिवालयले महिला,दलित,अल्पसंख्यक,पछाडि पारिएको वर्ग सहितलाइ समेटेर छरितो तर आवश्यकता अनुसारको सचिवालयको आकार बढाउने अधिकार समेत पाएको छ । यस्तै पार्टी सदस्यता नविकरण तथा अद्यावधिक कार्यका लागि लिलाचक्र गुरुङ र राजेश प्याकुरेल रहेको २ सदस्यीय समिति बनाइएको छ । बैठकले मात्रिकाप्रसाद भट्टराई सहित ५ सदस्यीय आर्थिक विभाग समेत गठन गरेको छ । विभागमा रुद्रप्रसाद थेबे,राधाकृष्ण पौडेल,टीकादेवी दाहाल र भोलानाथ पौडेल रहनु भएको छ । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)रहदैंबाट दुई पार्टी कमिटी र दुई पार्टी कार्यालय हुँदै दुई ध्रुवमा फर्केको एमाले ताप्लेजुङलाइ एउटै बनाउन पार्टीको प्रदेश स्तरीय हाइकमाण्डले प्रदेशसभाका सांसद समेत रहनु भएका साम्सोहाङलाइ संयोजक र संबिधानसभा सदस्य थेबेलाइ सहसंयोजकको जिम्मेवारी दिएर बिबाद मिलाउने प्रयास गरेको थियो । हाइ कमाण्डको सोहि प्रस्ताव अनुसार एमाले ताप्लेजुङको संयुक्त बैठक सोमवार फुङ्लिङ स्थित सामुदायिक भवनमा सञ्चालन भएको थियो । कार्यदलले साम्सोहाङ संयोजक र थेबे सहसंयोजक रहेको दुबै कमिटीका पदाधिकारी तथा सदस्य जिल्ला अधिबेशन आयोजक कमिटीमा रुपान्तरण गर्न प्रस्ताव गरे अनुसार नै संयुक्त बैठकले उल्लेखित निर्णय लिएको हो । बैठकको अध्यक्षता गरिरहनु भएका साम्सोहाङलाइ कार्यक्रम सञ्चालन गरिरहनु भएका थेबेले बैठकका एजेण्डा प्रस्तुत गर्न समय दिनु भएको थियो । साम्सोहाङले दुईवटै कमिटीलाइ जिल्ला अधिबेशन आयोजक कमिटीमा रुपान्तरण गर्ने,दुबै पक्षलाइ मान्य हुने गरी सचिवालय गठन गर्ने,११ औं जिल्ला अधिबेशन पुस मसान्त सम्ममा पूरा गर्ने,राष्ट्रिय महाधिबेशनका प्रतिनिधि छनौटको प्रकृया आरम्भ गर्ने,पार्टी सदस्यता नविकरण तथा अद्यावधिकको कार्य पूरा गर्ने,आर्थिक विभाग गठन गर्ने र पार्टीको बैंक खाता सञ्चालन प्रकृया आरम्भ गर्ने लगायतका प्रस्ताव गर्नु भएको थियो । बैठकमा एमाले केन्द्रीय सचिव तथा प्रतिनिधिसभाका सांसद योगेशकुमार भट्टराई,केन्द्रीय नेताहरु मेन्याङ्वो,टंक आङ्बुहाङ,पासाङ शेर्पा,संबिधानसभा सदस्य ओङ्दी शेर्पा,डम्बरध्वोज तुम्बाहाम्फे,सञ्चपाल मादेन,प्रदेशसभा सदस्य होमकुमारी साँवा,जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,फुङ्लिङ नगरप्रमुख छत्रपति प्याकुरेल,मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थत्लुङ सहितका प्रदेश कमिटी सदस्यहरु र दुबै पार्टी कमिटीमा रहेका जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।