| | |

प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा सपथग्रहण

अरुलाई पनि शेयर गरौ !

विराटनगर, कात्तिक १६ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । मुख्यमन्त्री राईसँगै नवनियुक्त मन्त्रीहरुले पनि मंगलबार शपथ ग्रहण गर्नुभएको हो ।
मंगलबार दिउँसो ३ बजेपछि प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश प्रमुखको कार्यालयमा विशेष समारोह आयोजना गरी मुख्यमन्त्री र मन्त्रीहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो । ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गर्नुभएका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले नियुक्त गर्नुभएको हो ।
मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १÷१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्नुभएको छ। मुख्यमन्त्री राईले काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री नियक्त गर्नुभएको छ ।
यस्तै काँग्रेसका प्रमुख सचेतक रहनुभएका नेता केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गर्नुभएको हो ।
नवगठित प्रदेश मन्त्रिपरिषदमा मुख्यमन्त्रीसहित एक जना बाहेक सबै नयाँ अनुहारका मन्त्रीहरुले जिम्मेवारी पाउनुभएको छ । माओवादी केन्द्रबाट मन्त्री बन्नुभएका आङ्बो भने दोस्रोपटक आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीमा पुग्नुभएको हो ।
यता मुख्यमन्त्री राजेन्द्र राई २०७४ को प्रदेशसभा निर्वाचनमा भोजपुरबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुनुहुन्छ । त्यस्तै भौतिक पूर्वाधारमन्त्री बन्नुभएका हिमाल कार्की उदयपुर निर्वाचन क्षेत्र १ (२) निर्वाचित प्रदेश सांसद हुनुहुन्छ भने आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो पाँचथर १ (ख) बाट, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की मोरङ क्षेत्र नं. ६ (२) बाट र सामाजिक विकासमन्त्री बन्नुभएका जयराम यादव मोरङकै क्षेत्र नं. ५ (२) बाट निर्वाचित प्रदेश सांसद हुनुहुन्छ । सामाजिक विकास राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फे भने समानुपातिक प्रदेश सांसद हुनुहुन्छ भने उहाँ ताप्लेजुङकी हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts