|

आजदेखि शुरु भयो तिहार

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,कात्तिक १६ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि शुरु हुँदैछ । मङ्गलबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यस वर्ष यमदीपदान आजदेखि शुरु हुने भए पनि काग र कुकुर तिहार कात्तिक १७ गते बुधबार परेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान शुरु हुन्छ । बुधबार बिहान ७ ः १४ बजेसम्म त्रयोदशी तिथि छ । त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाइन्छ । बिहान ७ ः १४ बजेपछि चतुर्दशी तिथि लाग्ने भएकाले कुकुरको पूजा एवं मीठा खाने कुरा खान दिने दिन पनि बुधबार नै परेको हो । सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान शुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो, उहाँले भन्नुभयो । यमपञ्चकका अवसरमा यमदीपदान गरे यमयातना बाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । यसैगरी धन्वन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण काग र कुकुर तिहार बुधबार एकै दिन परेको समितिले जनाएको छ । यमदीपदान परिवारका सदस्य संख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् एवं समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताउनुभयो । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । कात्तिक १८ गते बिहीबार बिहान नरक स्नानसहित लक्ष्मी पूजा गर्नुपर्छ । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरेर बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक १९ गते शुक्रबार परेको छ । कात्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचन अनुसार यस्तो निर्णय गरिएको उहाँले सुनाउनुभयो । यसै दिनदेखि नेपाल संवत् ११४२ शुरु हुन्छ । (अनलाइन खबरबाट)

अरुलाई पनि शेयर गरौ !

Similar Posts