| |

बिद्यालयमा आधारित मधुमेह कार्यक्रम ः बिद्यार्थी पाक शिक्षाको ज्ञान पाउँदै,घरमा करेसाबारी थप्दै

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ११ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमास्थित त्रिभुवन माध्यमिक बिद्यालयमा अध्ययरत इत्तु लिम्बू अहिले घरमा प्रयोग हुने खाना तथा खाजाका बारेमा सम्बेदनशिल हुन थालेकी छन् । उनी आफु मात्र होइन,घर परिवारका सदस्यलाइ पनि शरिरलाइ लाभ हुने खानपानमा ध्यान दिन सुझाउँछिन् र बनाएर खुवाउँछिन् पनि । करेसाबारीमा उत्पादन भएका साग,मूला,जाँगर,कोपी,केराउ लगायतको प्रयोगमा इत्तु मन्ग्ये ध्यान दिन्छिन् । तरकारी र सागसब्जीको प्रयोगबाट बनाइने मःम,अम्लेट,स्टिम राइस लगायतका परिकार इत्तुको घरमा खाजाका रुपमा देख्न सकिन्छ । मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवा स्थित साँवा माविकी माङ्गेन साँवा कक्षा १० मा पढ्छिन् । सुरुमा बजार पसलमा पाइने चाउचाउ,बिस्कुट,मिठाइजन्य खानेकुरा उनले प्रयोग गर्ने खाजाका परिकारमध्येका थिए । अहिले उनलाइ त्यतातिर ध्यान छैन । बरु उनी आफुले पहिले प्रयोग गर्ने तिनै खानेकुरा प्रयोग नगर्न अरुलाइ सुझाइरहेकी छन् ।‘जंक फुड त झन् खानै हुदैन नी !’यो भनाइले माङ्गेनको जंक फुड प्रयोग गर्ने बानी पूरै हटिसकेको संकेत गर्छ । यि दुई बिद्यार्थी प्रतिनिधिको भनाइले ताप्लेजुङका बिद्यालयहरुमा शक्तिबद्र्धक र मधुमेह नियन्त्रणमा सघाउ पुग्ने खाजा र खानाको प्रयोग र आकर्षण बढ्दै गएको देखिन्छ । बिद्यार्थीहरुमा मधुमेह नियन्त्रण गर्न अपनाउनुपर्ने खानपान र जीवनशैलीका उपायहरुका बारेमा भने बिद्यालय तहबाटै जानकारी गराइन्छ । ह्युमन प्राटिक्स फाउण्डेसन(एचपीएफ)ले बिद्यालयमा आधारित मधुमेह कार्यक्रम सुरु गरेको छ । यो कार्यक्रमले ताप्लेजुङका अधिकाँस बिद्यालयलाइ छोएको छ । आफ्नो उपस्थिति रहेका अधिकाँस बिद्यालयहरुमा एचपीएफले मधुमेह कार्यक्रम लागु गरेको छ । एचपीएफका मधुमेह कार्यक्रम संयोजक शिबलाल थापा बिद्यार्थी जनचेतना प्रवाह गर्ने शसक्त संयन्त्र भएको र बिद्यालय तहबाटै मधुमेह र नसर्ने रोग नियन्त्रणका उपाय केन्द्रितमा उनीहरुलाइ अग्रसर गराउन यो कार्यक्रम बिद्यालयस्तरमा सुरु गरिएको बताउँछन् । बिद्यार्थी आफैंले जानकारी पाएमा आफ्ना अभिभावक र अभिभावकमार्फत टोल समाजका अरु सदस्यसम्म मधुमेह नियन्त्रणका उपाय पुग्ने भएकोले बिद्यालयमा आधारित मधुमेह कार्यक्रम निकै प्रभावकारी बन्दै गएको थापाको बुझाइ । त्रिभुवन मावि थुकिमाका प्रधानाध्यापक गोपाल तुम्सा मधुमेह के हो भनेर बिद्यार्थीले पाउने प्रारम्भिक स्वास्थ्य जानकारीलाइ एचपीएफले अभ्यास मात्र नगराएको बरु मधुमेह नियन्त्रण कार्यमा बिद्यार्थीको संयन्त्रलाइ माध्यमको रुपमा उपयोग गरेकोमा सन्तुष्ट छन् । बिद्यार्थी आफुले सिक्ने र अभिभावकलाइ समेत खानपान र जीवनशैली सुधार्ने उपायका बारेमा जानकारी गराउने गतिलो संयन्त्र रुपमा बिद्यार्थीमार्फत अभियान चालेकोमा अपेक्षाकृत नतिजा आएको तुम्साको ठहर छ । साँवा माध्यमिक बिद्यालयका शिक्षक मोहनचन्द्र साँवा एचपीएफको यो अभियानमार्फत बिद्यार्थीले मधुमेह रोग रोकथाम र न्यूनीकरणका उपायका बारेमा जानकारी पाएको र घरपरिवारमा समेत यसको प्रयोग गर्न थालेकोले‘एक काम दुई पन्थ’झैं भएको बताउँछन् । एकातिर बिद्यार्थीलाइ मधुमेह रोग रोकथाम तथा न्यूनीकरणका उपायका बारेमा जानकारी हासिल हुनु अर्कोतर्फ त्यो जानकारी घर परिवार समेतमा पुग्नुले एचपीएफको अभियान कामयावी देखिएको साँवाले बताए । बिद्यालयमा आधारित मधुमेह कार्यक्रम अन्र्तगत एचपीएफले मधुमेह तथा नसर्ने रोग बिरुद्धको खानपान र जीवनशैली केन्द्रित कार्यक्रम सञ्चालन गर्छ । कार्यक्रम संयोजक थापाका अनुसार एचपीएफले साप्ताहिक पाक कक्षा सञ्चालन,पाक कक्षाका लागि चाहिने सामग्रीको व्यवस्थापन र किचन गार्डेन स्थापना तथा व्यवस्थापनमा सहयोग गरेको छ । यहिँ किचन गार्डेनमा बिभिन्न प्रकृतिका तरकारीजन्य बालीको उत्पादन गरी बिद्यार्थीको अगुवाइमा बिद्यालय परिसरमै साप्ताहिक पाक शिक्षा सञ्चालन गरी खाजाको प्रवन्ध हुने गरेका छन् ।‘यहिँ पाक कक्षा शिक्षाले मेरो जंक फुड प्रयोगको बानीमा परिवर्तन गरायो’साँवा माविका कक्षा ११ का बिद्यार्थी पूर्णहाङ लिम्बूले भने । एचपीएफले सञ्चालन सुरु गरेको किचन गार्डेनको अभियान अधिकाँस बिद्यार्थीका घर–घरमा समेत प्रयोगमा आउन थालेको छ ।

त्रिभुवन मावि थुकिमाकी कक्षा १० की बिद्यार्थी सपना केदेमले बिद्यालयमा पाएको ज्ञान अनुसार घर–घरमा समेत मधुमेह नियन्त्रणका लागि आवश्यक पर्ने तरकारी बालीको उत्पादन गर्न थालेको जानकारी दिइन् । एचपिएफमा मधुमेह रोकथाम तथा स्वास्थ्य सम्वन्धी कार्यको सहजीकरण गर्ने सृजना मिश्रका अनुसार हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ । यसको उत्पादन कम भयो भने या हर्मोनले राम्रोसंग काम गर्ने अवस्था भएन भने रगतमा चिनीको मात्रा बढ्छ । सामान्यतया रगतमा चिनीको मात्रा बढेपछि यसलाई मधुमेह रोग लागेको भन्छौँ । यसको समयमा सहि उपचार हुन सकेन भने बिभिन्न जटिलताहरु ल्याउँछ । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लागेको अनुमान छ । उनका अनुसार सामान्यतया स्वस्थ मान्छेमा खाली पेटमा रगतको जाँच गर्दा सुगर लेभल १०० भन्दा कम या कुनै पनि बेला अर्थात रेन्डम जाँच गर्दा १४० भन्दा कम हुनुपर्छ । मधुमेह रोग लाग्यो भन्नलाई खाली पेटको जाँच गर्दा सुगर लेभल १२६ भन्दा माथि र खाना खाएपछि २०० भन्दा माथि पुग्नु पर्छ । यो बीचको लेभल अर्थात खाली पेटमा १०० देखि १२५ सम्मको अवस्था र खाना पछिको १२६ देखि १९९ सम्मको अवस्थालाई प्रि डायबिटिजको अवस्था अर्थात मधुमेह हुने सम्भावना भएको अवस्था भनेर बुझ्नु पर्छ । मधुमेह बच्चा, बयस्क र बृद्ध जुनसुकै उमेरमा लाग्छ । हिजोआजको जीवनशैली र खानपानका कारण कम उमेरमै पनि यस्तो देखिएको छ । अहिले बच्चाहरुमै मोटो पन बढेकोले प्रकार दुईवाला मधुमेह देखिन थालेको बताइन्छ । नेपालमा पनि यसको प्रभाव देखिन थालिसकेको छ । मधुमेह रोग पहिल्यै लक्षण देखिएर लाग्न पनि सक्छ, लक्षण विना नै लाग्न पनि सक्छ । विभिन्न अनुसन्धानले के देखाएको छ भने मधुमेह भएकाहरुमध्ये झण्डै ५० प्रतिशतले आफूलाई मधुमेह भएको छ भनेरै थाह पाउन सक्दैनन्,किनभने कतिपयलाई लक्षण नै हुँदैन । त्यसैले जति मधुमेहका रोगी छन्, आधालाई रोग भएको थाह छैन भन्ने अनुमान छ । खाना रुचेर पनि तौल घट्दै जाने,पिसाव सामान्य भन्दा धेरै पटक लाग्ने,मुख सुख्खा हुने, प्यास धेरै लाग्ने,भोक बढी लाग्ने तर दुव्लाउदै जाने,कमजोरी हुने र खुट्टाहरु झम्झमाउने,खुट्टाहरु पोल्ने र घाउहरु छिटो निको नहुने मधुमेहका लक्षण हुन् । मधुमेह भएर नियन्त्रणमा राख्न सकिन भने यसले धेरै अंगलाई असर गर्न सक्छ । टाउको देखि खुट्टासम्म र त्यममध्ये पनि प्रायः देखिने एउटा असर आँखामा हुने गर्छ र आँखाको पर्दालाई असर गर्छ । त्यहाँ असर गरेर रगत जम्छ । त्यसपछि त्यो आँखा च्यातिने र अन्धोपनमा हुन जाने हुन्छ । नेपालमा मधुमेहका कारणले हुनसक्ने अन्धोपनको सम्भावना २५ गुणा बढी हुने विज्ञहरुले बताएका छन् । अर्को असर मिर्गौलामा गर्छ । मिर्गौलाबाट प्रोटिन लिक गराएर मिर्गौला फेल हुने सम्भावना रहन्छ । हृदयघात, मस्तिस्कघात हुने सम्भावना दोव्वर हुन्छ भने पक्षघातको सम्भावना पनि उत्तिकै हुन्छ । बंशजको आधार अर्थात परिवारको एक सदस्यलाई मधुमेह भयो भने त्यो जीनको आधारमा सन्तानहरुमा देखिने हुन्छ । यस्तो सम्भावना ५० प्रतिशत रहने विज्ञहरुले भनेका छन् । मधुमेह हुने अर्को कारण भनेको जीवन शैली नै हो । त्यो भनेको मोटोपन नियन्त्रण हुन नसक्ने, व्यायममा कमी र खानपानमा गडबढी नै हो । चिल्लो गुलियो र क्यालोरी भएको खानेकुराले मधुमेह निम्त्याँछ । मधुमेह रोग लाग्न नदिन वा नियन्त्रणको बाटोमा जान सामान्य खानपान अपनाउनु नै राम्रो हुने विज्ञहरुले सुझाव छ । क्यालोरी भएको चिज भात, मैदा, आलु, गुलियो चिल्लो फ्याट बढी हुने चिजहरुको सेवन कम गर्नाले मधुमेह रोग नियन्त्रणमा आउने विज्ञहरुको भनाइ छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts