|

बागमतीमा राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्दै

अरुलाई पनि शेयर गरौ !

हेटौंडा, कात्तिक ११ । नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री बन्दैछन् । पाण्डे बिहीबार आज मुख्यमन्त्री बन्ने र आजै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने बताइएको छ ।
एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेका कारण बुधबार राजिनामा दिएकी छन् । शाक्यले राजीनामा दिएसँगै गठबन्धनका तर्फबाट पाण्डे मुख्यमन्त्री बन्न लागेका हुन् । नेकपा एमाले विभाजनपछि १३ जना प्रदेशसभा सांसदले एकीकृत समाजवादी पार्टी रोजेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी थिइन् ।
गठबन्धनमा कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदहरूको समर्थनमा पाण्डेले बुधबार नै मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् । पाण्डेले आज दिउँसो तीन बजेपछि पद तथा गोपनियताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
पाण्डे मुख्यमन्त्रीमा नियुक्ति भएपछि आजै नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संसदीय दलका उपनेताहरुलाई सम्मिलित गराई सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको छ । स्रोतका अनुसार कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल, माओवादी केन्द्रकी उपनेता कुमारी मोक्तान र एकीकृत समाजवादीका उपनेता कृष्ण खनाल मन्त्री बन्ने छन् । उनीहरुले कुन-कुन मन्त्रालय सम्हाल्ने भन्नेमा भने टुङ्गो लागेको छैन ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts