| |

मामाङ्खेमा एकघर एक धारा कार्यक्रम सञ्चालन हुने

अरुलाई पनि शेयर गरौ !

टीका यक्सो लिम्बू
ताप्लेजुङ, कात्तिक ९ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नं. ६ मामाङ्खेमा एक घर एक धारा अभियान सञ्चालन हुने भएको छ । जिल्लाको एक दुर्गम गाउँ वा वडाको रुपमा रहेको मामाङ्खेमा गाउँपालिकाको योजनाअनुसार ‘एक घर एक धारा’ अभियान सञ्चालन हुने भएको हो ।
सिरिजङ्घा गाउँपालिकाले सवा एक करोड रुपियाँ बढी बजेट लगानी गरेर मामाङ्खेमा एक घर एक धारा अभियान कार्यान्वयन गर्ने भएको छ । वडाको केही टोलमा उक्त अभियानअन्तर्गत खानेपानी सञ्चालनमा आइसकेको र बाँकी रहेको सुदाप तथा मिक्लादेन टोलमा प्रत्येक घरधुरीमा धारा जडान गर्नेगरी योजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेका अनुसार ‘एक घर एक धारा’ अभियान कार्यान्वयन गर्नका लागि एक करोड २६ लाख रुपियाँ बराबरको बजेट लागत अनुमान गरिएको छ । सोही लागत अनुमानअनुसार योजना सञ्चालनका लागि ठेक्का आह्वानको प्रक्रिया अघि बढाएको प्रमुख प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिनुभयो । सो खानेपानी योजनामा वडाको बजेट सिलिङबाट १५ लाख रुपियाँ विनियोजन भएको र बाँकी रकम गाउँपालिकाले बेहोर्नेगरी प्रक्रिया अघि बढाइएको उहाँले बताउनुभयो ।
हालसम्म सडकको पहुँच नपुगेका मामाङ्खेलाई जिल्लाकै दुर्गम गाउँको रुपमा लिने गरिन्छ । अधिकांस अर्थात ९५ प्रतिशत बढी लिम्बू समुदायको बसोबास रहेको मामाङ्खेमा हालसम्म खानेपानीको दिगो योजना सञ्चालनमा नभएका कारण स्थानीयले समस्या खेप्दै आएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts