| | |

पाथीभरामा भक्तजनको भीड (फोटो फिचर)

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज २८ ।
दशैँको नवरात्र शुरु भएसँगै ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) मा भक्तजनको भीड लागेको छ । कोरोना भाइरस (कोभिड–१९) कारण गत असोज १ गतेदेखि मात्र दर्शन खुल्ला गरिएको पाथीभरामा नवरात्रियता भक्तजनको भीड लागको हो । नवरात्रिको अन्तिम दिन आज महानवमी पर्वमासमेत भक्तजनहरु पाथीभरा दर्शनमा गइरहेका बताइएको छ ।
पाथीभराको दर्शनका लागि दशैँ र तिहारको अवधिलार्ई मुख्य मौसम मानिन्छ । यही मौसममा पाथीभराको दर्शन गर्ने दर्शनार्थीको भीड लाग्ने गरेको विगत देखिकै परम्पराअनुसार यसवर्ष पनि भक्तजनको उल्लेख्य आगमन भएको हो । यसवर्ष आन्तरिक भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ भने बाह्य तीर्थयात्रीकोसमेत आगमन भएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ ।
दर्शन खुल्ला गरेसँगै पाथीभरामा भक्तजनको आगमन शुरु भएको र नवरात्रि सुरु भएपछि भने भक्तजनको घुँइचो नै लागेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो । काफ्लेका अनुसार बिहीबार शुरु भएको नवरात्रिदेखि बुधबार सम्ममा करिव २० हजार भक्तजनले पाथीभराको दर्शन गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार नवरात्रिको शनिबार एकैदिन साढे छ हजार जतिले दर्शन गरेका छन् ।
फेदी प्रहरीचौकीले राखेको अभिलेखमा शनिबार छ हजार २५ जनाले दर्शन गरेको देखिन्छ भने उक्त दिन ५०० को हाराहारीमा अभिलेखमा दर्ता नगरी भक्तजन पाथीभरा गएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिनुभयो । प्रहरी कार्यालयका अनुसार नवरात्रि शुरु भएपछि न्युनतम् पनि दैनिक एकहजार बढी भक्तजनले पाथीभराको दर्शन गरिरहेका छन् । सोमबार तीन हजारको हाराहारीमा भक्तजन पाथीभरामा पुगेका थिए भने मङ्गलबार दशैँको फुलपातीको दिन पनि उल्लेख्य सङ्ख्यामा भक्तजन पाथीभरा दर्शनमा गएका थिए ।
कोभिड–१९ का कारण गतवर्ष मुख्य मौसममा पनि पाथीभराको दर्शनमा रोक लगाइएको थियो । यो वर्ष भने असोजपछि दर्शन खुल्ला गरेकाले देश बाहिरका दर्शनार्थी न्युन मात्र आएका फेदी प्रहरीचौकीका अभिलेखमा उल्लेख छ । देशभित्र सङ्घीय राजधानी काठमाडौं लगायतबाट उल्लेख्य सङ्ख्यामा दर्शनार्थी आएका छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार काठमाडौं, झापा र भेडेटार क्षेत्रबाट हेलिकप्टमार्फत पनि दर्शनार्थी पाथीभरा आएका छन् । नेपाल बाहिर भने भारतको सिक्किम र दार्जिलिङ क्षेत्रबाट न्युन दर्शनार्थी आएका छन् ।
यो मौसममा दशैँको कोजाग्रत पूर्णिमासम्म नै भक्तजनको बाक्लो उपस्थिति रहने गरेको पाइएको छ । यसरी पाथीभरामा भक्तजनको उपस्थितिसँगै ताप्लेजुङका यातायात व्यवसायी र होटल व्यवसायीलाई भ्याइ–नभ्याई भएको छ । कोभिडले गतवर्ष सुनसान बनेको सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा रहेका होटलहरु भक्तजनको आगमनले यो वर्ष खचाखच भएका छन् । यातायात व्यवसायीलाई पनि सदरमुकाम र पाथीभरा क्षेत्रको काफ्लेपाटीसम्म ओहोरदोहोर तीर्थयात्री बोक्नमा भ्याइ–नभ्याइ छ ।
यता कोरोना महामारी कायम नै रहेकाले सकेसम्म पाथीभराको दर्शनमा जाने भक्तजनले स्वास्थ्य सुरक्षाको मापदण्डलाई पालना गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ । भीडभाडमा अनिवार्य मास्क लगाउन साथै सम्भव भए भौतिक दूरा कायम गर्न पनि भक्तजनलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो । त्यस्तै स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने र भक्तजनको हितमा आवश्यक सहयोग दिने उद्देश्यले सदरमुकाम फुङ्लिङको तोक्मेबजार र पुरानो बैङ्क लाइनमा जिल्ला प्रहरी कार्यालयले यात्रु र भक्तजनलाई लक्षित गरी नागरिक सहायता कक्ष पनि सञ्चालनमा ल्याएको छ ।
शब्द/तस्बिर : प्रयास,

अरुलाई पनि शेयर गरौ !

Similar Posts