मृत भेटिएकी युवतीको शव आफन्तले बुझ्न मानेनन्,शव ताप्लेजुङ अस्पतालको शव गृहमै
ताप्लेजुङ,असोज ९ । शुक्रवार मृत भेटिएकी ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमकी १८ बर्षिया एक युवतीको शव शनिवार पनि आफन्तले बुझ्न मानेनन् । मृतक १८ बर्षिया पुष्पा तबेबुङ लिम्बूका बुबा बीरबहादुरले छोरीको हत्या आशंका लागेकोले गम्भिर अनुसन्धान जरुरी रहेको भन्दै त्यसका बिषयमा टुङ्गो नलागे सम्म शव नबुझ्ने बताउनुभयो । उहाको शव अहिले ताप्लेजुङ जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । ‘आत्महत्या भएको भए घर(डेरा) छाडेर त्यति टाढा कसरी शव भेटियो’लिम्बूले प्रतिप्रश्न गर्नु भएको छ । पुष्पाको शव फुङलिङ नगरपालिका–७ दोखुको निगाले भीरमा शुक्रबार दिउँसो फेला परेको थियो । सदरमुकामको बिहीबारे टोलमा डेरा गरी बस्दै आएकी लिम्बूको शव फेला परेको स्थान डेरा भन्दा करिव ३–४ किलोमिटर टाढा पर्छ । राति १२ बजे सम्म डेरामै रहनु भएकी उहाँ बिहान मृत भेटिनु शंकास्पद भएको मृतकका आफन्तले बताएका छन् । मृतकका आफन्तले पुष्पाको हत्या भएका दावी गर्दै सुक्ष्म अनुसन्धान बेगर आफुहरुले शव नबुझ्ने अडान लिएका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी)बाल नरसिंह राणाले आफुहरु अनुसन्धानको गर्ने प्रकृयामा तल्लिन भएर लागि रहेको बताउनुभयो । प्रारम्भिक अनुसन्धानका आधारमा आफुहरु घटनाको तथ्य नजिक पुगि सकेको उहाँले बताउनुभयो । पोष्टमार्टम रिर्पोटले पनि धेरै कुरा पत्ता लाग्ने भन्दै राणाले आफुहरुले मृतकको मोवाइलको कल डिटेल समेत मगाएको जानकारी दिनुभयो । पुष्पासंगै बस्ने उनका आफन्त र साथीहरुले पुष्पा मृत भेटिनु अघिल्लो दिन राती १२ बजे सम्म डेरा रहेको घरको छतमा बसेर कसैसंग कुरा गरेको जानकारी दिएका छन् । त्यसको भोलिपल्ट बिहान करिव ८ बजे पुष्पा मृत भेटिनु भएको थियो । प्रहरीले पुष्पालाइ मृत भेटिएको स्थानमा मेटासिट(बिष) समेत फेला परेको र त्यसका बारेमा समेत अनुसन्धान भइरहेको बताएको छ । पुष्पाको शव अर्धनग्न अवस्थामा प्रहरीले फेला पारेको थियो ।