अब ताप्लेजुङमै अक्सिजन उत्पादन हुने, अक्सिजन प्लान्ट जडान कार्य पूरा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,६ असोज । अब ताप्लेजुङमै अक्सिजन उत्पादन हुन सुरु हुने भएको छ । बुधवार अक्सिजन प्लान्ट जडान कार्य पूरा भएपछि अब दैनिक रुपमा यहिँबाट अक्सिजन उत्पादन गर्न सकिने ताप्लेजुङ जिल्ला अस्पतालका निमित्त मेडिकल सुुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले जानकारी दिनुभयो । प्रविधि इन्टरनेस्नल सप्लार्यसमार्फत ७१ लाख ५० हजार रुपैंयाको लागतमा अक्सिजन प्लान्ट जडान कार्य पूरा भएको लामाले बताउनुभयो । अक्सिजन प्लान्ट राख्ने स्थानमा ट्रस राख्ने लगायतका कार्य भने बाँकी रहेको छ । त्यो कार्य पनि करिव २ हप्ता भित्र पूरा हुने ताप्लेजुङ जिल्ला अस्पतालले बताएको छ । अक्सिजन प्लान्ट जडान कार्य पूरा भएकोले अब यहिँ प्लान्टमार्फत २४ घण्टामा ६०–६५ किलोग्रामवाला २० थान अक्सिजन सिलिण्डर बराबर अक्सिजन उत्पादन गर्न सकिने प्रविधि इन्टरनेस्नल सप्लार्यसका प्राविधिक दिलबहादुर बिकले जानकारी दिनुभयो । अहिले सम्म ताप्लेजुङमा अक्सिजनको उत्पादन हुने गरेको थिएन । कोरोनाका बिरामी अत्यधिक भएको समयमा समेत पर्याप्त मात्रामा अक्सिजन सिलिण्डर नभएपछि ताप्लेजुङ उद्योग बाणिज्य संघको अगुवाइमा यहाँका जनप्रतिनिधि र दाताहरुमार्फत भरिएको अक्सिजन सिलिण्डर आपूर्तिको पहल भएको थियो । बिभिन्न दाताहरुले अक्सिजन कन्सन्ट्रेटर समेत दिएका छन् ।
अक्सिजन प्लान्ट जडान संगै अब बिरामीका लागि चाहिने अक्सिजनको अभाव नखड्किने ताप्लेजुङ अस्पतालका निमित्त मेसु लामाले जानकारी दिए । ताप्लेजुङ अस्पतालमा आइसियु जडानको कार्य समेत हुने छ । काठमाण्डौका चावहिल स्थित फाइन सर्जिकल नेपाल प्रालिले भ्याट सहित १ करोड ८ लाख ११ हजार ६ सय १४ रुपैंयामा पिरियडिक आइसियु जडानको जिम्मेवारी पाएको छ ।