आजदेखि पाथीभरा दर्शन खुल्ला

–राजकुमार गुरुङ
ताप्लेजुङ, असोज १ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन शुक्रबार (आज) देखि खुल्ला गरिएको छ । कोरोना महामारीका कारण विगत पाँच महिनादेखि रोक लगाइएको पाथीभरा देवीको दर्शन गर्न खुल्ला गरिएको हो ।
हाल कोरोना भाइरस (कोभिड–१९) को प्रभाव न्यून हुँदै गएकाले र पाथीभरा दर्शन गर्ने मुख्य सिजनसमेत सुरु भएकाले शुक्रबारदेखि दर्शनका लागि खुला गर्ने निर्णय गरिएको पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ । समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै भक्तजनका लागि दर्शन, पूजाआजा, ध्यान तथा प्रार्थना गर्न खुल्ला गरिएको हो ।
कोभिड–१९ को जोखिम अझै पूर्णरुपमा अन्त्य भई नसकेकाले पाथीभरा दर्शनमा आउने तीर्थयात्रीलाई सरकारले लागू गरेको स्वास्थ्य सुरक्षाका मापदण्डलाई अनिवार्य पालना गर्न अनुरोधसमेत समितिले गरेको छ । पाथीभरा दर्शनका लागि दसैँ तिहारको समयलाई मुख्य सिजन मान्ने गरिएको छ भने यो सिजनमा मात्र लाखौ भक्तजनले पाथीभराको दर्शन गर्ने गर्दछन् ।