| |

प्रदेश १ मा १० जना सांसदले रोजे एकीकृत समाजवादी

विराटनगर, भदौ १६ । नवगठित दल नेकपा (एकीकृत समाजवादी) मा आबद्ध हुने प्रदेश १ का १० जना प्रदेशसभा सदस्य (सांसद) ले बुधबार आज सनाखत गर्ने भएका छन् । नेकपा एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादी रोजेका सांसदहरुले निर्वाचन आयोगमा आज सनाखत गर्ने तयारी गरेका हुन् ।

एमालेबाट विभाजन भएको पार्टी एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधिहरुको लागि २२ गतेसम्म सनाखत गर्ने समय निर्वाचन आयोगले दिएको छ । प्रदेश सांसद राजेन्द्र राईको नेतृत्वमा एकीकृत समाजवादीमा आबद्ध सांसदहरुले मंगलबार नै सनाखत गर्ने तयारी गरेको भए पनि प्रदेश १ मा सार्वजनिक विदा परेकोले सनाखतको समय एक दिन धकेलिएको हो । बाग्मती र सुदुरपश्चिमा एकीकृत समाजवादी रोज्ने सांसदले मंगलबार नै सनाखत गरिसकेका छन् ।

यसअघि माधबकुमार नेपाल समूहमा रहेका सांसदहरुलाई रोक्न एमालेले नेपाल समूह छाडेर आएका भीमप्रसाद आचार्यलाई मुख्यमन्त्री बनाएको छ । तर, उनी मुख्यमन्त्री भए पनि नेपाल समूहका बहुमत सांसदको उनले साथ नपाउने देखिएको छ । यसअघि नेपाल समूहमा आबद्ध भएका १८ सांसदमध्ये कम्तिमा १० जनाले समाजवादी रोज्दै सनाखत गर्ने पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए ।

आचार्यले मुख्यमन्त्री भए पनि नेपाल पक्षका सांसदलाई आफ्नो पक्षमा ल्याउन मन्त्री बनाउने, पार्टीमा जिम्मेवारी दिनेसहितका विभिन्न ‘अफर’ गरेका छन् । तर, आचार्यको प्रभाबमा १० जना सांसदमध्ये कोही नपर्ने बरु थप सांसदले सनाखत गर्ने राईको भनाइ छ ।

प्रदेशसभा सदस्य उपेन्द्र घिमिरेले पनि आचार्य नेतृत्वको एमाले सरकार अल्पमतमा पर्नेगरि सांसदहरुले बुधबार नेकपा एकीकृत समाजवादी रोज्दै सनाखत गर्ने जानकारी दिए । उनले अहिले आफूहरुसँग रहेका १० जनाले एकसाथ सनाखत गर्ने निर्णय भइसकेको जानकारी दिँदै २२ गतेसम्ममा थप सांसदहरु पनि आउने दावी गरे ।

एकीकृत समाजवादी रोज्नेमा भोजपुरका राजेन्द्र राई, खोटाङका राजन राई, मोरङका उपेन्द्र घिमिरे, सावित्रा रेग्मी र कृष्णकुमारी राई, इलामकी खिनु लङ्वा लिम्बू, पाँचथरका गणेश काम्बाङ, उदयपुरकी सुनिता चौधरी, संखुवासभाकी सरिता थापा र पदमकुमारी गुरुङ रहेका छन् । केहिदिनदेखि सामूहिक रुपमा बसेर छलफल गर्दै आएका उनीहरुले नयाँ दल रोज्नका लागि एक साथ विराटनगरमा रहेको निर्वाचन कार्यालयमा सनाखत गर्ने तयारी गरेका छन् । बुधबार १० सांसदले नेकपा समाजवादी रोज्दै सनाखत गरेपछि आचार्य नेतृत्वको सरकार अल्पमतमा पर्नेछ । प्रदेशसभाको बहुमतको लागि ४७ सांसद आवश्यक पर्नेमा १० सांसद एकीकृत समाजवादीमा आबद्ध भएपछि एमालेमा ४१ सांसद रहनेछन् भने बिपक्षी गठबन्धनको बहुमत पुग्नेछ । प्रदेशसभामा अहिले नेपाली काँग्रेसका २१, नेकपा (माओवादी केन्द्र) का १५, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ र राप्रपाका १ सांसद छन् । राप्रपाकी इन्दिरा राईबाहेक सबै विपक्षी गठबन्धनमा आबद्ध रहेकोले समाजवादीमा १० सांसद आबद्ध भएसँगै गठबन्धनको पक्षमा ५० सांसद हुनेछन् ।

Similar Posts