|

इजीआरपी अन्र्तगत पेशागत सहयोगका लागि नमूना स्थानीय तहको रुपमा आठराइ त्रिबेणी गाउँपालिका छनौट

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १४ । ताप्लेजुङका ९ स्थानीय तहमध्ये प्रारम्भिक कक्षा पढाइ कार्यक्रम(इजीआरपी)अन्र्तगत पेशागत सहयोगका लागि नमूना स्थानीय तहको रुपमा आठराइ त्रिबेणी गाउँपालिका छनौट भएको छ । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिको पूर्ण बैठकले पेशागत सहयोगका लागि नमूना स्थानीय तहको रुपमा आठराइ त्रिबेणीलाइ छनौट गरेको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका ताप्लेजुङ संयोजक रेवती नेपालले जानकारी दिनुभयो । प्रारम्भिक कक्षा पढाइ कार्यक्रम जिल्ला समन्वय समितिका संयोजक एवम् शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख योगेश्वर भट्टराईका अनुसार प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका ५ वटा अंगमध्ये पेशागत सहयोग कार्यक्रम एउटा हो । यस अन्र्तगत शिक्षकहरुलाइ सीप विकास तालिम सहित समग्र व्यवस्थापन प्रणालीका बारेमा जानकारी दिलाउने कार्यक्रम हुने छ । जिल्लाभरी प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालनमा रहेपनि ९ स्थानीय तहमध्ये पेशागत सहयोग कार्यक्रममा नमूना बनाउन आठराइ त्रिबेणी छनौट गरिएको प्रारम्भिक कक्षा पढाइ कार्यक्रमका ताप्लेजुङ संयोजक नेपालले बताउनुभयो । आठराइ त्रिबेणी गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले पेशागत सहयोग कार्यक्रमका लागि प्रारम्भिक कक्षा पढाइ कार्यक्रममार्फत प्राप्त हुने सहयोग बाहेक पालिकाकोतर्फबाट आर्थिक व्यवस्थापन गरी पेशागत सहयोगका लागि आफुहरुले अग्रसरता लिने बताउनुभयो । पेशागत सहयोग कार्यक्रम अन्र्तगत नमूना छनौट भएको पालिकाले पालिका क्षेत्रभित्रका बिद्यालयलाइ क्लष्टर बनाउने,क्षमता विकास कार्यशाला आयोजना गर्ने,हरेक महिना सघन कक्षा अवलोकन गर्ने र मासिक क्लष्टर बैठक सञ्चालन गर्ने लगायतका कार्य हुनेछन् । हरेक महिना सघन कक्षा अवलोकनका लागि पालिकाले स्रोत व्यक्तिको परिचालन वा लिडर बिद्यालयमार्फत पनि अभियान अघि बढाउन सक्ने भएको छ । कक्षा १–३ मा अध्ययनरत बालबालिकाको पठनसीपमा सुधार गर्ने उद्देश्यले सञ्चालित प्रारम्भिक कक्षा पढाइ कार्यक्रमले मुख्यत ५ वटा बिषयलाइ समेटेको छ । यसमा शिक्षा सामग्री व्यवस्थापन,शिक्षक तालिम(पेशागत सहयोग कार्यक्रम),स्थानीय तहका पदाधिकारी र व्यवस्थापन प्रकृयामा खटिने जनशक्तिलाइ क्षमता विकास,कक्षागत रुपमा गरिने बिद्यार्थी मूल्याङ्न र अनुगमन तथा मूल्याङ्कनका कार्य हुनेछन् । यो कार्यक्रमले बिद्यालयको आधारभूत सर्भे,योजना निर्माण,रणनीति र कार्ययोजना निर्माणमा सघाउने छ भने समग्र व्यवस्थापनतर्फ समय,स्रोत,जनशक्ति र प्रविधिमा समेत सहयोग गर्ने छ । इजीआरपीमार्फत ताप्लेजुङमा एकिकृत पाठ्यक्र विकास र प्राविधिक सहयोग,कम्तिमा १० दिने क्षमता विकास तालिम,नीति र योजना निर्माण,पठनसीप परीक्षणमा सहयोग,स्थानीय तहको शिक्षा योजना र शैक्षिक पाश्र्वचित्र निर्माणमा प्राविधिक सहयोग,शिक्षा योजना र शिक्षा पाश्र्वचित्र निर्माणका लागि कार्यदल गठन,स्थानीय तहमा गठन भएको विज्ञ समूहलाइ संस्थागत क्षमता विकास तालिम,स्थानीय तहमा बनेको कार्यदललाइ प्राविधिक सहयोग जस्ता कार्य भइरहेका छन् । यस्तै कोरोनाका कारण निरन्तर पढाइमा समस्या झेलिरहेका बिद्यार्थीलाइ सिकाइ सहजीकरणका लागि निरन्तर सिकाइ सहजीकरण सामग्री,अनलाइन शिक्षण बिधिमा आधारित बिद्युतीय सामग्री र संकटका बेला पढाइ व्यवस्थापनका लागि सहयोग र यसको अनुगमनका कार्य पनि भइरहेको इजीआरपीका ताप्लेजुङ संयोजक नेपालले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts