| |

प्रदेश १ का अर्थमन्त्री आङ्बुहाङलाई पितृशोक

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ ९ ।
प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङ पितृशोकमा पर्नुभएको छ । मन्त्री आङ्बुहाङका पिता पदमध्वोज आङ्बुहाङ लिम्बूको ९१ वर्षको उमेरमा बुधबार विराटनगरमा निधन भएको हो ।
मन्त्री आङ्बुहाङका पिता उच्च रक्तचापको समस्याका कारण केही दिन अघिदेखि विराटनगरस्थित न्यूरो हस्पिटलमा उपचाररत रहनुभएको थियो । उहाँको उपचारकै क्रममा बुधबार बिहान ८ः१० बजेतिर निधन भएको मन्त्रीका स्वकीय सचिव नारद गुरागाईंले जानकारी दिनुभयो । लिम्बूको १९८७ सालमा जिल्लाको आठराई त्रिबेणी गाउँपालिका–५ चाँगेमा जन्म भएको थियो ।
यता मृतक लिम्बूको दाहसंस्कार भने बिहीबार आफ्नै गाउँ चाँगे पुछार तमोर नदी घाटमा गरिने परिवार स्रोतले जनाएको छ । मातृशोकमा पर्नुभएको करिव साढे आठ महिनापछि मन्त्री आङ्बुहाङ पितृशोकमा पर्नुभएको हो । उहाँको आमा कान्छीमाया लिम्बूको गत माघ १८ गते ८७ वर्षको उमेरमा निधन भएको थियो ।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट माओवादी केन्द्रको कोटामा उम्मेदवार भई ताप्लेजुङ निर्वाचन क्षेत्र नं. १ (ख) बाट आङ्बुहाङ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो । पछि नेकपा एमाले र माओवादी केन्द्र फरक–फरक रहनेगरी भएको अदालतको फैसलापश्चात एमालेमा लाग्नुभएका आङ्बुहाङ हाल प्रदेश १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्री रहनुभएको छ । एमालेमा लागेका कारण माओवादी केन्द्रले कारबाही गरेपछि आङ्बुहाङ प्रदेशसभा सदस्यबाट भने बरखास्त भइसक्नुभएको छ ।

Similar Posts