| |

ताप्लेजुङमा ९५ प्रतिशत रोपाइँ सकियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १५ ।
ताप्लेजुङमा यसवर्ष हाल सम्ममा ९५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । जिल्लाका किसानले जेठको अन्तिम सातादेखि रोपाइँ गर्न थालेका र हालसम्म अर्थात साउनको दोस्रो साता सम्ममा ९५ प्रतिशत रोपाइँ सम्पन्न गरेका हुन् ।
ताप्लेजुङ हिमाली जिल्ला भएकाले यहाँ जेठ महिनाको दोस्रो सातादेखि रोपाइँ सुरु गर्ने गरिन्छ । यसवर्ष पनि कोरोना भाइरसको महामारीकाबीच किसानले रोपाइँ गरेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड समेतलाई दृष्टिगत गरी यसवर्ष किसानले रोपाइँ गर्दै आएका कृषि ज्ञान केन्द्रले जनाएको छ ।
सुरुमा न्युन वर्षाका कारण सहज गरी काम गर्न नपाएका किसानले असारपछि भने सहज रुपमा गरिरहेका कृषि ज्ञान केन्द्र पाँचथर, सम्पर्क कार्यालय ताप्लेजुङका प्राविधिक सहायक केदार धितालले जानकारी दिनुभयो । प्राविधिक सहायक धितालका अनुसार साउन दोस्रो साता बिहीबार सम्ममा करिव ९५ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कुल आठहजार ७३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेकामा हालसम्म आठहजार ३०० हेक्टर क्षेत्रफल बराबरमा रोपाइँ सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको औल अर्थात तल्लो बेँसी क्षेत्रमा साउन महिनाभर धान रोपाइँ हुने गरेको छ । अब बाँकी रहेको पाँच प्रतिशत रोपाइँ साउनको तेस्रो साताभित्रै सम्पन्न हुनसक्ने कृषि ज्ञान केन्द्रको अनुमान रहेको छ । जिल्लामा परम्परागत शैलीमै अर्थात हलो जुवासहित गोरु जोतेरै अधिकांस क्षेत्रमा रोपाइँ गर्ने गरिएको छ भने केही ठाउँमा कृषि औजार (यान्त्रिकरण) को प्रयोगबाट पनि रोपाइँ गर्न थालिएको छ । यहाँ खुमल–४, बेलगुटी, अट्टे, भँगेरे लगायत स्थानीय जातको धान रोप्ने गरिएको पनि कृषि ज्ञान केन्द्रले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts