| |

अलैंची जोनले ढाकेको क्षेत्रमा उत्पादित अलैंची बिक्रीबाट ताप्लेजुङका किसानले लिए १ अर्ब ३५ करोड

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २ । ताप्लेजुङको अलैंची जोनले ढाकेको क्षेत्रमा उत्पादित अलैंचीको बिक्रीबाट पछिल्लो एक बर्षमा किसानले १ अर्ब ३५ करोड बढी आम्दानी लिएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अलैंची जोन ताप्लेजुङले शनिवार तृृतिय तथा बार्षिक प्रगति बिबरण सार्वजनिक गर्दै यस्तो बताएको हो । बरिष्ठ कृषि विकास अधिकृत शम्भुप्रसाद देवका अनुसार जोनले ढाकेको क्षेत्रबाट २ हजार ६ मेट्रिकटन उत्पादन भएकोमा २ हजार मेट्रिकटन बिक्री भएको छ । आन्तरिक खपत ज्यादै कम हुने भएकोले करिव ६ मेट्रिकटन अलैंची मात्र ताप्लेजुङमा खपत भएको समेत देवले तथ्याङ्क प्रस्तुत गर्नुभयो । अलैंची जोनले ताप्लेजुङमा ३ हजार ७ सय हेक्टर क्षेत्रफल ओगटे पनि ३ हजार ४ सय हेक्टर क्षेत्रफलमात्र उत्पादनशिल क्षेत्र रहेको उहाँले जानकारी दिनुभयो । फुङ्लिङ नगरपालिकाका ११ वटै वडा,मैवाखोला गाउँपालिकाका ६ वटै वडा,मिक्वाखोला गाउँपालिकाका ५ वटै वडा,फक्ताङ्लुङ गाउँपालिकाका ७ वटा वडामध्ये वडा नं ७ ओलाङ्चुङगोला बाहेकका ६ वटा,आठराइ त्रिबेणी गाउँपालिकाका वडा नं ३,४ र ५ गरी ३ वटा वडा,पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं १ र ३ गरी २ वटा वडा,मेरिङ्देन गाउँपालिकाको वडा नं ३ खाम्लुङ बाहेक बाँकी ५ वटा वडा र सिरिजंगा गाउँपालिकाको वडा नं ६ मामाङ्खे गरी यहाँका ६१ मध्ये ३९ वटा वडामा जोन कार्यक्रमको कार्यक्षेत्र रहेको छ । जोनको कार्यक्षेत्र सिदिङ्वा गाउँपालिकाका कुनै पनि वडामा छैन । यसबाहेक बाँकी ८ स्थानीय तहका कुनैमा पूरै वडा र कुनैमा आशिंका वडा अलैंची जोनको कार्यक्षेत्र भित्र समेटिएका छन् ।
पुँजीगतमा सतप्रतिशत खर्च,चालूमा उब्रियो
सामान्यतया अधिकाँस सरकारी तथा गैर सरकारी संस्थाको चालू बजेट पूरै र पुँजीगत बजेट कम खर्च हुने गर्छ । तर अलैंची जोन कार्यान्वयन इकाइ ताप्लेजुङको नतिजा भने ठीक उल्टो भएको छ । जोनले पुँजीगतबजेट सत प्रतिशत खर्च गरेको छ भने चालू बजेट करिव ८३ प्रतिशत मात्र खर्च गरेको छ । बरिष्ठ कृषि विकास अधिकृत देवका अनुसार ३३ लाख ७० हजार पुँजीगत बजेट रहेकोमा यो सत प्रतिशत खर्च भएको हो । यस्तै ३ करोड ७० लाख ५६ हजार चालू बजेट रहेकोमा ८२.८४ प्रतिशत अर्थात् ३ करोड ७ लाख रुपैंयामात्र खर्च भएको छ । बरिष्ठ कृषि विकास अधिकृत(उपसचिव)१ सहित १३ जनाको दरबन्दी रहेकोमा शाखा अधिकृत सो सरहका २ जना कृषि अधिकृत बाहेक ११ जनाको पदपूर्ति भएको छ । अहिले लेखापाल १,नासु १,नायव प्राविधिक सहायक(करार)४,हलुका सवारी चालक १ र कार्यालय सहयोगी ३ गरी १३ मध्ये ११ जनाको पदपूर्ति भएको अलैंची जोन कार्यान्वयन इकाइ ताप्लेजुङले जनाएको छ ।
के उपलब्धी हासिल ग¥यो जोनले
अलैंची जोनले स्थानीय तहको लागत साझेदारीमा बीउ स्रोत केन्द्र स्थापना,जोन सञ्चालनका लागि चक्लाबन्दीमा सहकारी,निजी क्षेत्रबाट माग संकलन,सम्भाव्यता अध्ययन गरी ५ वटा कार्यक्रम सञ्चालन,गतबर्ष बिस्तार भएको क्षेत्र(ताप्लेजुङका २३) र यसबर्ष बिस्तार भएको क्षेत्र (पाँचथरका १४) गरी ३७ वटा पूर्वाधार निर्माणका काम भएका छन् । प्राविधिक शिक्षालयको साझेदारीमा व्यवसायिक उत्पादन सञ्चालन अनुदान,कृषि यान्त्रिक उपकरण तथा प्राथमिक प्रशोधन सामग्री(अलैंची सुकाउने भट्टी ४० वटा र ३७ जना लाभग्राहीलाइ मेसिनरी औजार)बितरण,स्थानीय तहको समन्वयमा नर्सरी स्रोत केन्द्र स्थापनाका कार्य समेत सम्पन्न भएको जोनले जनाएको छ । जोनले फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिममा परियोजना कार्यान्वयन इकाइ ताप्लेजुङ,फक्ताङ्लुङ गाउँपालिका र नोवल सहकारी संस्था लिमिटेडको साझेदारीमा टिस्यु कल्चर ल्याव स्थापना गरिएकोलाइ यो अवधिकै अनुकरणीय कार्यको रुपमा चित्रित गरेको छ । प्रगति समिक्षा कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन,अलैंची जोन सञ्चालक समिति अध्यक्ष दिनेश अधिकारी सहितका पदाधिकारी,डिभिजन वन अधिकृत वीरेन्द्र शाह,ताप्लेजुङ उद्योग बाणिज्य संघका अध्यक्ष तारानाथ घिमिरे सहितको उपस्थिति रहेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts