| |

सङ्क्रमित बढ्न थालेपछि साब्लाखु ‘सील’

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार २६ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका वडा नं. ४ साब्लाखुलाई सील गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित बढ्दै गएपछि गाउँपालिकाले साब्लाखु वडालाई सील गरेको हो ।
गाउँपालिका अध्यक्ष नरबहादुर कडरियाद्वारा शनिबार जारी सूचनाअनुसार कोरोना प्रकोप रोकथाम तथा नियन्त्रण गर्ने उपायस्वरुप वडालाई एक साताका लागि सील गरिएको उल्लेख छ । सील गरिएको अवधि अर्थात एक सातासम्म अनावश्यक हिँडडुल गर्न नपाउने, अन्तरवडा आवतजावत गर्न नपाइने नियम लागू गरिएको छ । यस्तै साब्लाखुलाई ‘रेड जोन’ का रुपमा पहिचान गरी अन्यत्र वडा तथा क्षेत्रका मानिस प्रवेश निषेध गरिएको छ भने वडावासी बाहिर जान नपाइने भएको छ ।
एक वडादेखि अर्को वडामा मेलापात, पाहुना जान नपाइने नियम बनाइएको छ भने भोज भत्तेरमा पनि सहभागी हुन पाइने छैन । सङ्क्रमित व्यक्तिहरु र सम्पर्कमा रहेका व्यक्ति होम आइसोलेसनमा बस्नुपर्ने, आइसोलेसनमा बसे नबसेको निगरानी हुने छ भने विवाह, ब्रतवन्ध, देवाली, पास्नी, जन्मोत्सवजस्ता सामाजिक तथा साँस्कृतिक क्रियाकलापमा प्रतिबन्ध गरिएको छ । हाल साब्लाखुमा नौ जना सङ्क्रमति रहेका छन् भने उनीहरु होम आइसोलेसनमा बस्दै आएका गाउँपालिकाले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts