| |

अलैँचीको मूल्य बढे पनि फाइदाबाट बञ्चित !

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असार ३ ।
ताप्लेजुङका किसान तथा स्थानीय व्यापारीले अलैँचीको मूल्य वृद्धि भए पनि यसको फाइदा लिनबाट बञ्चित भएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नेपाली अलैँचीको माग बढेसँगै मूल्य वृद्धि भएको र उक्त मूल्य वृद्धिको फाइदा भने स्थानीय किसान तथा व्यवसायीले लिन नपाएका हुन् ।
विगत केही वर्षयता अलैँचीको मूल्य निरन्तर गिरावट भइरहेको छ । यस वर्ष पनि अलैँची कारोबारको सिजनमा खासै मूल्य नआएको अर्थात प्रतिमन (४० किलोग्राम) २२ देखि २५ हजार रुपियाँसम्म मात्र आएको थियो । पछिल्लो चार/पाँच वर्षयता मूल्य बढ्ने भन्दा पनि निरन्तर घट्ने क्रम रहेकाले अलैँची उत्पादक किसान तथा स्थानीय व्यापारीले सिजनमा चलेको मूल्यमै खरिद बिक्री गरिसकेकाले हालको मूल्य वृद्धिको फाइन लिनबाट उनीहरु बञ्चित भएका हुन् ।
अहिले अलैँचीको मूल्य वृद्धि भएर प्रतिमन ३० देखि ३२ हजार रुपियाँसम्म पुगेको छ । यसअघि अलैँची कारोबार गर्ने मुख्य सिजनको मूल्यभन्दा अहिले प्रतिमन छ हजार देखि आठ हजार रुपियाँसम्म मूल्य वृद्धि हुनु राम्रो रकम भएको भए पनि सो फाइदा लिन नपाएको फुङ्लिङ बजारका स्थानीय व्यापारी भद्र रेग्मीले बताउनुभयो । पहिले सिजनमै अलैँचीको कारोबार गरिसकेकाले अहिले बेमौसममा मूल्य बढेका कारण त्यो फाइदा लिन नपाएको रेग्मीको भनाइ छ ।
यस्तै फुङ्लिङ बजारकै अलैँची व्यवसायी दिनेश अधिकारीले पनि वृद्धि भएको मूल्यको फाइदा किसान तथा स्थानीय व्यवसायी दुवैले लिन नपाएको बताउनुभयो । ताप्लेजुङ उद्योग बाणिज्य सङ्घका बरिष्ठ उपाध्यक्षसमेत रहनुभएका व्यवसायी अधिकारीका अनुसार कारोबारको सिजनमा आएको मूल्यमा सबै अलैँची बिक्री गरिसकेकाले मूल्य वृद्धिको फाइदा लिनबाट बञ्चित हुनुपरेको हो ।
जिल्लाका प्रायः सबै किसान तथा व्यवसायीले अलैँची पहिले नै बिक्री गरिसकेकाले यसपटक वृद्धि भएको मूल्यको फाइदा कसैले पनि लिन नपाएका अधिकारीले बताउनुभयो । सुरु वर्षहरुमा भने किसान तथा स्थानीय व्यापारी दुवैले राम्रो मूल्यको पर्खाइमा अलैँची पछिसम्म कारोबार नगरी थन्क्याएर राख्ने गर्दथे । पछिल्लो समयमा भने मूल्य बढ्नेभन्दा पनि निरन्तर घट्दै जाने हुँदा सुरुमै कारोबार गर्ने गरेको स्थानीय व्यवसायी बताउँछन् ।
यता ताप्लेजुङमा भने चार हजार २५८ हेक्टर क्षेत्रफल बराबरमा अलैँची खेती गरिँदै आएको छ । उक्त खेतीबाट यसवर्ष मात्र दुई हजार ९६० मेट्रिकटन अलैँची उत्पादन भएको थियो । कृषि ज्ञान केन्द्र पाँचथरको तथ्याङ्क अनुसार यसवर्ष जिल्लामा गत वर्षभन्दा करिव १० देखि १५ प्रतिशतले अलैँची उत्पादन वृद्धि भएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts